काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालुवाटारको सरकार जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको बताएका छन् । बालुवाटार जग्गा प्रकरणमा सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेलको संलग्नता रहेको सार्वजनिक भईरहेको बेला सभापति देउवाले सरकार ढाकछोप गर्न लागेको आरोप लगाए ।
संघीय संसदको चौथो अधिवेशनको पहिलो बैठकमा देउवाले बालुवाटार प्रकरण उठाउँदै छानविन गर्न सरकारसँग माग गरेका हुन् । ‘बालुवाटारको सरकारी जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको सार्वजनिक हुँदा पनि सरकारले ढाकछोप गर्न लागेको देख्दा नागरिकको धैर्यको सिमा टुट्न लागेको छ’ देउवाले भने, ‘आउने वर्ष सरकार यस्ता दुस्कर्ममा नलागोस्।’
उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरणमा पनि सरकारले अपराधी पत्ता लगाउन नसकेकोमा आलोचन गरे। देउवाले आफ्नो सरकारको पालामा सुरू भएका कामको उद्घाटन मात्र गरेर प्रचार गरेको बताए।
‘विगतको सरकारले गरेको कामको उद्घाटन गरेर आफैंले गरेको भनेर झूटा प्रचार गर्ने बाहेक कुनै काम गरेको छैन’, देउवाले प्रतिनिधि सभा बैठकमा भने। उनले सरकारले चौध महिना देखाउन लायक एउटा पनि काम नगरेको बताए।





























प्रतिक्रिया