काठमाडौ
काठमाडौंको नामको उत्पत्ति भएको काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माण अन्तर्गत अहिले काठको काम भइरहेको छ ।
काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले अहिलेसम्ममा २५ प्रतिशत काम सकिएको बताए । अहिले झ्याल र ढोका निर्माणको काम भइरहेको छ । गत माघ २७ गते श्रीपञ्चमीका दिन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डपको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार थाममध्ये तीन नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ । अध्यक्ष शाक्यले भने, ‘ आगामाी सालको असार मसान्तसम्ममा भुइँतलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ, निर्धारित समयमा काम सकिन्छ ।’
सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वर्ष वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले जात्रा हेर्न आएका कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । कामपाले पुनःनिर्माण समितिलाई हालसम्म पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ ।
काष्ठमण्डपलाई प्राचीन स्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूप अनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुनेछैन । आठ फिटभन्दा माथिका एक हजार दुई सय ५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिनेछ ।
धरहरामा दुई भर्याङ
धरहरा पुनः निर्माणको काम अन्तर्गत अहिले जमीनमुनि पिलर राख्ने काम करीब अन्तिम चरणमा पुगेकाले अबको केही दिनमा जमिन माथिको काम हुनेछ । निर्धारित समयमा नै सक्नेगरी काम भइरहेको प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।
सुनधारास्थित २९ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ११ तलाको बन्नेछ । टुप्पाबाट काठमाडौं उपत्यका पूरै नियाल्न पाइनेछ । वरपर सङ्ग्रहालय, पानीको फोहरा, नाट्यघर, आकर्षक बगैंँचा, पार्किङ स्थल, खाजाघर लगायत निर्माण गरिनेछन् । गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको शिलान्यास गरेका थिए । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ जहाँ दुई लिफ्ट (आधुनिक भर्याङ) पनि हुनेछ । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुवै माध्यमबाट धरहरा चढ्न सकिनेछ ।
दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण सुरु गरेको हो । कूल तीन अर्ब ४८ करोड लगानीमा निर्माण हुने धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । धरहराको १८ औँ तलामा अवलोकन कक्ष हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पार्किङ स्थल, पसल लगायत रहनेछन् । धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुनेछ । त्यहाँ आउने अवलोकनकर्ताले सवारी साधनको व्यवस्थित पार्किङ गर्न सक्ने गरी पुनःनिर्माण हुनेछ ।
त्यहाँ ३५० गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ । एघारतले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गरेका थिए । मानन्धरका अनुसार गोश्वारा हुलाकका कारण काम गर्न समस्या भएपछि भत्काउनुपर्ने देखिएको छ । हुलाक सार्नका लागि आवश्यक पहल गरिएको छ ।
बबरमहलमा कार्यालय सार्नका लागि हुलाक सेवा विभागले तयारी थालेको छ । जगको काम पूरा भएपछि गोश्वारा हुलाक भत्काइने र बाँकी काम गरिने छ । ऐतिहासिक सम्पदा निर्माणका लागि कामदार पाउन त्यति सहज छैन । अहिले काष्ठमण्डप र रानीपोखरीको पुनःनिर्माणमा भक्तपुरका सीपयुक्त कामदार खटिएका छन् ।
आकर्षक रानीपोखरी
अठारौँ शताब्दीको रानीपोखरी पुनःनिर्माणका लागि लामो समय काठमाडौं महानगरपालिकाले जिम्मा लिए पनि विभिन्न किसिमका आन्तरिक विवादका कारण काम नभएपछि गत माघ १४ गते मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षेत्रको पुरातात्विक संरचना पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएको थियो ।
अहिले रानीपोखरीमा पोखरीकै सरसफाइ र यसअघि कामपाले निर्माण गर्दा प्रयोग गरेको आधुनिक निर्माण सामग्री हटाउने काम भइरहेको प्राधिकरणका सिनियर डिभिजन इञ्जिनीयर धुव्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार हाल दैनिक ५० कामदारले पुनः निर्माणको काम गरिरहेका छन् । आगामी तिहारमा प्रयोग गर्न मिल्ने गरी काम तीव्र रुपमा भएको छ । प्राधिकरणका अनुसार अबको रानीपोखरी परम्परागत रुपमा निर्माण भए पनि आकर्षक हुन्छ ।
भूकम्प गएको करीब चार वर्षमा पुनःनिर्माण थालिएको रानीपोखरी पुरानै शैलीमा बन्नेछ । बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउने योजना तय भइसकेको छ । पोखरी वरिपरिको क्षेत्रलाई थप आधुनिक र आकर्षक बनाइने बताइएको छ । प्राधिकरणले तयार पारेको विधिअनुसार पोखरीको मध्यभागमा कालीमाटी राखिने छ । माटाको तह तयार भएपछि करीब दुई फिट बालुवा राखिनेछ ।
रासस





























प्रतिक्रिया