काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका करिब ४ हजार ईन्जिनियरहरुले सामुहिक राजीनामाको घोषणा गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित संरक्षण समितिले बिहीबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी राजीनामाको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा समितिका अध्यक्ष ई. अविनाश अमरले सरकारले अन्यायमा पारेको भन्दै सामूहिक राजीनामा दिएको बताए । सरकारले गरेको अन्यायका कारणले हामी चरणबद्ध आन्दोलनमा थियौं । तर, धैर्यताको बाँध भत्किएकोले आजैको मितिबाट लागू हुने गरी हामी ३२ जिल्लाका सम्पूर्ण प्राविधिकहरुले सामूहिक राजीनामा घोषणा गरेका छौं ।’ उनले भने ।
आफूहरुले अघि सारेका मागप्रति सरकार संवेदनशील नभएकोले बाध्य भएर सामुहिक राजीनामा दिनुपरेको उनको भनाई छ । उनीहरुले गत चैत्र ३ गतेबाट देशव्यापी चरणबद्ध आन्दोलन गर्दै आएका थिए । सरकारले आफूहरुको माग सुनुवाई नगरेसम्म काममा नफर्किनेसमेत उनले स्पष्ट पारे ।
यसअघि चैत्र १२ गते नेपाल ईन्जिनियर्स एशोसिएसनको मध्यस्थतामा प्राधिकरण र आफूहरुबीच सहमति भएर एक साताभित्र सबै माग पूरा गराउने प्रतिबद्धतासहित काममा फर्किए पनि सरकारले सहमति उल्लंघन गरेको समितिको आरोप छ ।
समितिले आफूहरुले खाइपाई आएको प्रोत्साहन भक्ता, भौगोलिक भक्ता, यातायात खर्च र सञ्चार खर्च निरन्तर पाउनुपर्ने, प्रत्येक स्थानीय तहमा पुनर्निर्माण शाखा अनिवार्य रुपमा हुनुपर्ने, स्थायित्व र निरन्तरताको व्यवस्था गरिनुपर्नेलगायतका विभिन्न ५ बुँदे माग राखेको छ ।





























प्रतिक्रिया