नेपाल भ्रमण वर्ष २०२० : लक्ष्य भेट्न कठिन

नेपाल भ्रमण वर्ष २०२० : लक्ष्य भेट्न कठिन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सरकारले एक वर्षमा झण्डै दोब्बर (२० लाख) पर्यटक भित्र्याउने महत्वांकाक्षी लक्ष्य राखेर शनिबारदेखि ‘नेपाल भ्रमण वर्ष २०२०’ औपचारिक सुरुवात गरेको छ । पर्यटकीय नगरी पोखराबाट शनिबार अभियान सुरु हुँदै गर्दा यसको सफलतामाथि टिकाटिप्पणी सुरु भएका छन् ।

नेपालमा पछिल्लो वर्ष ११ लाख ७५ हजार हाराहारी पर्यटक आएका छन् । सरकारले यो वर्ष (सन् २०१९) प्रचारप्रसार गरी आगामी वर्ष २० लाख पर्यटक ल्याउने लक्ष्य राखेको हो । एक वर्षको तयारीमा झण्डै दोब्बर पर्यटक आउने, नआउनेमा पर्यटन व्यवसायी अलमलमा छन् । सरकारले चमत्कारिक काम गरे मात्र लक्ष्य फेला पर्ने उनीहरुको भनाइ छ ।

पूर्वाधारको विकासबिना सरकारले लक्ष्य हासिल गर्न सक्ने आधार नदेखिएको र पूर्वाधार एकै वर्षमा तयार नहुने धारणा व्यवसायीको छ । पर्यटन व्यवसायी लिलाबल्लभ दाहालका अनुसार नेपाल पर्यटकीय गन्तव्यका हिसाबमा भरिपूर्ण देश हो। तर ती गन्तव्य भ्रमणका लागि पर्यटकलाई सहज छैन । उनका अनुसार नेपालले हवाई कनेक्टिभिटी बढी देशमा गर्न नसक्दा ठूलो संख्यामा पर्यटक आउने सम्भावना छैन ।

‘पर्यटक आउन सबैभन्दा पहिला आवश्यक पर्ने हवाई कनेक्टिभिटी हो,’ टानका पूर्वकोषाध्यक्षसमेत रहेका दाहालले भने, ‘नेपालले केही सीमित छिमेकी देशसहित ६ देशमा मात्रै हवाई सेवा थालेको छ । चीन, श्रीलंका लगायत देशबाट लाखौं पर्यटक भित्र्याउन सकिने सम्भावना हुँदाहुँदै पनि नेपालले ती देशमा उडान गर्न सकेको छैन । यसले नेपालको पर्यटन बजार खुम्च्याएको छ ।’

उनका अनुसार एकातिर नेपालसँग पर्याप्त जहाज छैनन् भने अर्कातिर भएकै जहाजलाई पनि पर्याप्त नउडाउँदा पर्यटन बजारलाई फड्को मार्न समस्या छ । सरकारले राम्रोसँग पूर्वतयारी नगरेकाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन सम्भव नरहेको दाहालको भनाइ छ । अर्का पर्यटन व्यवसायी आङपेम्बा शेर्पा पनि सन् २०२० मा २० लाख पर्यटक भित्र्याउन असम्भव देख्छन् । ‘जताततै स्थानीय तहले कर थपेर पर्यटकलाई भार बढाइरहेका छन्,’ टानका महासचिवसमेत रहेका शेर्पाले भने, ‘पर्यटकीय हिसाबले नेपाल आउने पर्यटक खुसी नै रहे पनि प्रक्रियागत हिसाबले असन्तुष्ट छन् ।’
नागरिकबाट

Logo