राप्रपाले देशभर जलायो धर्म निरपेक्षता ब्यानर, ठाउँ-ठाउँमा प्रहरी हस्तक्षेप

राप्रपाले देशभर जलायो धर्म निरपेक्षता ब्यानर, ठाउँ-ठाउँमा प्रहरी हस्तक्षेप

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्म निरपेक्षताको ब्यानर जलाएको छ । राप्रपाले पूर्वघोषित आन्दोलन कार्यक्रमअनुसार आज धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाएको हो ।

गत फागुन ७ गते राप्रपाले प्रधानमन्त्री समक्ष हिन्दु राष्ट्र पुर्नस्थापना लगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको थियो । राप्रपाले आजको कार्यक्रमलाई हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने ‘टर्निङ्ग प्वाइन्ट’ हुने बताउँदैं आएको थियो ।

हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थान विन्दुको रुपमा आजको कार्यक्रम सफल भएको राप्रपाको ठहर छ ।

धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउन खोज्दा विभिन्न जिल्लाहरुमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । धर्म निरपेक्षता जलाउने क्रममा प्रहरीले हस्तक्षेप गर्दा मकवानपुरमा केही नेता तथा कार्यकर्ता घाइते भएका छन् ।

प्रहरी धरपकडमा कृष्ण बिडारी र अर्जुन खुलाल लगायत नेता कार्यकर्ता सामान्य घाइते भएका हुन् । त्यस्तै रुपन्देहीमा पनि प्रहरीले हस्तक्षेप गरेको छ । धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।

राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रुपमा वैशाख ८ गते राजमार्ग र चोकहरुमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।राप्रपाले आफ्ना मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुन मै १५ दिने मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा गरेको थियो ।

पहिलो चरणको जनसंघर्ष कार्यक्रम अन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रीत कार्यालयमा भ्रष्टाचारको अन्त्य लगायतका मागहरू राखी एक घण्टे धर्ना समेत गरेको थियो ।

पहिलो चरणको तेश्रो कार्यक्रम अन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम गरेको राप्रपाले आज धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाएको हो ।

तस्बिरः राप्रपा ट्वीटर

Skip This
Skip This
Logo