प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त भएका छन् । आज बसेको संसद बैठकमा उनले विश्वासको मत नपाएका हुन् । बैठकमा उपस्थित २५८ सदस्यमध्ये प्रधानमन्त्री प्रचण्डले प्रस्ताव गरेको विश्वासको मतको पक्षमा ६३ मत मात्रै परेको हो । विपक्षमा १९४ मत खस्दा एक सदस्य तटस्थ बसे ।
प्रधानमन्त्री प्रचण्डले सरकारको नेतृत्व गरेको १८ महिनाको अवधिमा चारपटक विश्वास जित्दा पाँचौं पटक भने असफल भएका हुन् । संसदकै प्रमुख दल कांग्रेस र एमालेसहित राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोकतान्त्रिक समाजवादी र नागरिक उन्मुक्ति उनको विपक्षीमा उभिए । उनलाई साथ दिनेमा माओवादी, रास्वपा र एकिकृत समाजवादी मात्रै रहे ।
यसअघि एमालेसहितका दलहरुले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्ड संसद्को आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका हुन् ।
विश्वासको मत नपाएपछि संवैधानिक व्यवस्थाबमोजिम नै प्रधानमन्त्री प्रचण्ड स्वतः पदमुक्त भएका हुन् । अब नयाँ सरकार गठनको बाटो खुल्नेछ । त्यसका लागि कांग्रेस र एमालेबीच सहमति भएको छ । दुईभन्दा बढी दलहरूबाट जुटाइएको दुईतिहाइ बढी समर्थन प्राप्त हस्ताक्षरसहित एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दाबी पेस गर्ने तयारी भइरहेको छ ।































प्रतिक्रिया