नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र दाबी पेस गर्न शुक्रबार नै आह्वान गरेका थिए । सोअनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा बहुमत सदस्यका साथ प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका थिए । आज ५ बजेपछि राष्ट्रपति पौडेलले ओलीलाई चौथोपटक प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । उनको भोलि बिहान ११ बजे शपथको कार्यक्रम तय भएको छ ।
ओली यसअघि पहिलोपटक २०७२ असोज २४ गते प्रधानमन्त्री भएका थिए । संविधान निर्माणपछि माओवादी, राप्रपा र राप्रपा नेपालको समर्थनमा उनले उनले १० महिना सरकार सञ्चालन गरेका थिए । ०७४ मा एमाले–माओवादीबीचको वाम गठबन्धन बनाएर चुनावमा गए । करिब दुई तिहाइनजिक बहुमत ल्याएर २०७४ फागुन ३ गते दोस्रोपटक प्रधानमन्त्री बने। एकीकरणपछिकाे नेकपा पार्टीमा किचलो उत्पन्न भएपछि २०७७ पुस ५ मा उनले प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरे। तर, सर्वोच्च अदालतले ०७७ फागुन ११ गते विघटन असंवैधानिक भन्दै पुनःस्थापना गरिदियो। ७८ वैशाख २७ मा ओलीको सरकारले सदनमा विश्वासको मत गुमायो। त्यतिवेला उनले तीन वर्ष तीन महिना सरकार चलाए ।
सरकार ढलेपछि तत्कालीन राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि आह्वान गर्दै ओलीलाई नै अल्पमतको प्रधानमन्त्री नियुक्त गरिन्। तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएका ओलीले ०७८ जेठ ८ गते फेरि प्रतिनिधिसभा विघटन गरिदिए । असार २८ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्स्थापना गर्नुका साथै कांग्रेसका सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि उनको तेस्रो कार्यकाल दुई महिनामै सिमित भएकाे थियाे ।





























प्रतिक्रिया