दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता

दिवा खाजा कार्यक्रममा साढे चार करोड अनियमितता

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

देशभरका सामुदायिक विद्यालयमा लागू भएको विद्यालय दिवा खाजा कार्यक्रममा व्यापक अनियमितता भएको पाइएको छ । महालेखापरीक्षकको ५६ औं वार्षिक प्रतिवेदन अनुसार ४ करोड २८ लाख नियमसम्मत खर्च नभएको देखिएको छ ।

‘रामेछाप, ओखलढुंगा, ललितपुर लगायतका विद्यालयलाई निकासा दिएको ४ करोड २८ लाख रुपैयाँ नियमसम्मत नभएको देखिन्छ । उक्त निकासाबाट भएको खर्च सम्बन्धमा छानबिन गरी यकिन गर्नुपर्ने देखिन्छ,’ महालेखाले भनेको छ ।

महालेखापरीक्षकको प्रतिवेदन अनुसार शिक्षा विकास तथा समन्वय इकाइ झापाले निर्देशिका विपरीत रकम बाँडेको देखिन्छ । लक्षित समूहका विद्यार्थीलाई दिवा खाजाको रकम दिनुपर्नेमा जिल्लाका ३ सय १३ प्राथमिक विद्यालयका १३ हजार ८ सय ६१ विद्यार्थीका लागि २ हजार ७ सय रुपैयाँका दरले ३ करोड ७४ लाख २५ हजार ७ सय रुपैयाँ निकासा दिएको देखिन्छ । निर्देशिका विपरीत निकासा भएको रकम यकिन गरी असुल गर्नुपर्ने महालेखापरीक्षक प्रतिवेदनको निष्कर्ष छ ।

सामुदायिक विद्यालयका विद्यार्थीका लागि दिवा खाजा कार्यक्रम सञ्चालन कार्यविधि, २०७३ तथा कार्यक्रम कार्यान्वयन निर्देशिका अनुसार तोकिएका १४ जिल्लाका सबै र अन्य जिल्लाका लक्षित समूहका बालबालिकालाई प्रतिदिन १५ रुपैयाँका दरले १ सय ८० दिनका लागि दिवा खाजा उपलब्ध गराउनुपर्ने व्यवस्था छ ।

सरकारले १३ लाख ५४ हजार विद्यार्थीलाई लक्षित गर्दै दिवा खाजा कार्यक्रम लागू गरे पनि सो कार्यक्रम लक्षित वर्गसम्म पुग्न सकेको छैन । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले यस वर्ष ४० जिल्लाका सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गरेको छ । जसका लागि २ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । तर अधिकांश सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम प्रभावकारी नभएको पाइएको छ ।
राजधानीबाटं

Logo