सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको कामको लोकप्रियता देखेर केही शक्तिहरू अहिले अत्तालिएको दाबी गरेका छन्। उनले भने, ‘ती शक्तिलाई एक त हाम्रो दुईतिहाइ भएको पचेको छैन भने अर्काेतिर सरकारले गरिरहेको राम्रो काम मन पराएको छैन । त्यसैले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी सरकारको आलोचना गरिरहेका छन् ।’
मुलुकलाई समृद्ध बनाउन सरकारले बलियो जग हाल्ने काम गरिरहेको बताउंदै मन्त्री बास्कोटाले भने, ‘मुलुकको समग्र विकास र समृद्धिका लागि सरकारले जग बलियो बनाउन लागेको छ, जग बलियो भएपछि माथि जस्ता हाल्ने काम हुँदै गर्छ ।’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले संघीयता कार्यान्वयन र कानून निर्माणमा वर्तमान सरकार सफल भएको बताउँदै मुलुक समृद्ध बनाउने धारणा व्यक्त गरे ।
सरकारको ध्यान केबल अहिले विकास र समृद्धिमा केन्द्रित रहेको भन्दै मन्त्री बाँस्कोटाले भने, ‘सरकार र आफ्नो पार्टीले सामाजिक रुपान्तरण र समृद्धिको योजना अघि सारेर त्यसै अनुरुप काम कारवाही अगाडि बढाएको छ ।’
उनले कुनै पनि नेपालीलाई नागरिकताबाट बञ्चित गराएर अघि बढ्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै वैज्ञानिक, पारदर्शी र वस्तुनिष्ट तरिकाबाट नागरिकता वितरण गर्ने कार्यमा सरकार प्रतिबद्ध रहेको बताए।































प्रतिक्रिया