काठमाडौं । भारतीय वायुसेवा कम्पनी जेट एयरवेजले नेपाल उडान स्थगित गरेको छ । आन्तरिक समस्याका कारण जेट एयरवेजले नेपाल उडान स्थगित गरेको हो ।
दैनिक ३ वटा उडान रद्द गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । बिहीबारसम्म नियमित उडान गरिरहेको एयरवेजले शुक्रबारदेखि चार दिनका लागि उडान स्थगित गरेको महाप्रवन्धक क्षेत्रीको भनाई छ ।
वायुसेवाले बिहीबार मात्रै दिल्ली काठमाडौं दुईवटा उडान गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो वायुसेवालाई दैनिक तीनवटा उडानको अनुमति दिएको छ। यो वायुसेवाले नेपाल नागरिक उड्डयन प्राधिरणबाट बोइङको बी७३७-८०० नामक १६८ सिट क्षमताको जहाजबाट दैनिक तीनवटा उडानको अनुमति स्वीकृत गराएको छ।
आर्थिक संकटमा परेको यो वायुसेवाले पछिल्लो समय एकपछि अर्को अन्तर्राष्ट्रिय गन्तव्यमा उडान स्थागित गर्दै जान थालेको छ । वायुसेवाले दिल्ली इन्दिरा गान्धी विमानस्थलबाट दैनिक काठमाडौंमा ३ उडान अनुमति भएपनि पछिल्ला दिनमा यसको उडान कटौति गर्दै दुई वटामा सिमिति गरेको थियो।
वायुसेवाले अर्को सूचना नआएसम्मका लागि सबै उडान स्थगित गरेको बताएको टिकेटिङ एजेन्सी एस ट्राभलले जनाएको छ । वायुसेवाले सन् २०१८ मा मात्रै ४ लाख ५० हजार ९४९ यात्रुलाई सेवा दिएर नेपालबाट अन्तर्राष्ट्रिय उडानका यात्रुलाई सेवा दिनेको दोस्रो सूचीमा परेको थियो । यसले ३१ सय ३८ उडानमार्फत काठमाडौंमा २ लाख २४ हजार ४९५ यात्रुलाई अवतरण गराएको छ भने काठमाडौबाट २ लाख २६ हजार ४५४ यात्रुालाई बाहिर पठाएको छ।





























प्रतिक्रिया