यसपटक पनि ईभीमय बन्दै ‘नाडा अटो शो’, कुन–कुन ब्राण्डका गाडी हुँदैछन् सहभागी ?

यसपटक पनि ईभीमय बन्दै ‘नाडा अटो शो’, कुन–कुन ब्राण्डका गाडी हुँदैछन् सहभागी ?


काठमाडौं । नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपाल नजिकिँदै गरेको ‘नाडा अटो शो २०२४’ को तयारीमा धमाधम लागि रहेकाे छ । १६औं संस्करण उक्त अटो शोलाई गाडीको ‘कुम्भमेला’का रूपमा पनि हेरिने भएकाले यसको अग्रिम तयारी नै व्यापक हुन्छ ।

जसका कारण पनि गाडी खरिद गर्न चाहनेहरू हजारौं संख्यामा शो सञ्चालन भएको बेला प्रदर्शनी स्थलमा पुग्ने गर्छन् । यसपटकको ‘नाडा अटो शो २०२४’ भाद्र ११ देखि १६ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा सञ्चालन हुँदैछ ।
उक्त शोमा यसपटक भने इलेक्ट्रिक भेहीकल (ईभी)को बाहुल्यता रहने बताइएको छ ।

नाडाले अटो शोमा पेट्रोल र डिजेल प्रयोग हुने सवारीभन्दा ईभी गाडीको संख्या उच्च हुने जानकारी दिएको हो । नाडाले प्रदर्शनीका लागि जेठ ३१ गतेदेखि असार ५ गतेसम्म स्टल बुकिङ्ग रजिष्ट्रेशन खुल्ला गरेको थियो । स्टलका लागि अत्यधिक माग परका कारण नाडाले गोला प्रथाद्वारा स्टल उपलब्ध गराइसकेको छ ।

स्टल बुकिङ्ग अधिकांश ईभी गाडी बिक्री गर्ने कम्पनीहरूले गरेको नाडा अटो शोका सभापति अनुप कुमार बजारले जानकारी दिए । नेपाली बजारमा ईभी प्रति मान्छेको आकर्षण बढ्दै गएको विषयलाई मध्यनजर गर्दै प्रदर्शनीमा ईभीलाई कम्पनीहरूले प्राथमिकता दिएको पाइन्छ ।

‘अटो शोमा सबै भन्दा ईभी गाडी हुनेछन्, प्राय सबै कम्पनीहरूले आफ्नो नयाँ प्रडक्ट राख्ने तयारी देखिन्छन्, फिउलमा आधारित खासै धेरै गाडी छैन,’ सभापति बरालले केन्द्रबिन्दुसँग भने । अटो शोमा महिन्द्रा, सुजुकी, हुन्डाई आदिका ब्रान्डका इन्धनमा आधारित गाडी हुने छन् ।

प्रदर्शनीमा दुई, तीन तथा चार पाङग्रे, लाइट कमर्शियल साथै वित्तीय संस्था र सवारी साधनका पार्ट पुर्जाका पनि स्टल रहने छन् । नाडाका अनुसार करिव एक सय ४१ आसपासमा सवारीको स्टिल हुनेछन् ।

अघिल्लो वर्षको तुलनामा यसपटक स्टलको संख्या बढ्ने नाडाले जानकारी दिएको छ । गाडी खरिद गर्ने र बिक्री गर्नको एउटा उपयुक्त मञ्च बन्दै आएको अटो शो नेपालकै ठूलो मेला पनि हो । उक्त शोमा विभिन्न देशका प्रतिनिधिको सहभागिता रहने नाडाले जानकारी दिएको छ ।

नाडाले अटो शोको अवसर पारेर अबको १० वर्षपछि ईभीको अवस्थालाई मध्यनजर गर्दै कार्यक्रमको पनि आयोजना गर्ने भएको छ । प्रदर्शनी अघिल्लो वर्षमा भन्दा भव्य हुने नाडाका वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले बताए । ‘अटो शोमा बढी ईभी गाडी हुने छन्, इन्धनमा आधरित गाडीको उत्साहजनक सहभागिता छैन,’ उनले भने ।

इन्धनमा आधारित धेरै गाडी कम्पनीहरूले शोमा भाग नलिएको वरिष्ठ उपाध्यक्ष गोल्छाले जनकारी दिए । उक्त शोमा सेरेस, बीवाईडी, स्काईवेल, नेटा, किया, हुन्डाई, टाटा, सिट्रोन, एमजी, हेनरी भोल्ट्स र ओमडोका गाडी पनि प्रदर्शनीमा हुने छन् ।

यस्तै, लिपमोटर, रिडारा, अवतार, दीपल, जीकर, न्यू ईभी, सुजुकी, सीएचटीसी र कामा, एसआरएम, गोनो, फोटोन, वलिङ, हेल्मार्व, सोकोन आदि ब्राण्डका विभिन्न मोडलका गाडी रहने बताइएको छ । अटो शोमा उक्त ब्राण्डहरूले आफ्नो नयाँ प्रडक्टहरु प्रदर्शनी गर्ने बताइएको छ ।

कम्पनीहरू आफ्नो नयाँ प्रडक्टहरु अटो शोमा उतारेर दमदार उपस्थिति जनाउनका योजना बुनिरहेका छन् । नजिकिँदै गरेको ‘नाडा अटो शो २०२४’ मा आम ग्राहकको आकर्षणको केन्द्रमा पनि नयाँ मोडलका गाडी नै पर्ने देखिन्छ । नाडाका अनुसार विभिन्न ब्राण्डका करिव ३२ वटा नयाँ मोडलको गाडी प्रदर्शनीमा हुनेछन् । विगत वर्षको भन्दा यस पटकको अटो शोको रौनक निकै आकर्षक हुने बताइएको छ ।

Logo