काठमाडौं
अफ्रिकी राष्ट्र लिबियामा द्वन्द्व चर्किएपछि त्यहाँ रहेका अमेरिकी फौजलाई अस्थायी रूपमा अन्यत्र सारिएको छ । द्वन्द्वका कारण भारतले पनि शान्ति सेनामा खटिएका सेन्ट्रल रिजर्भ फोर्सका १५ वटा टुकडीलाई त्रिपोलीबाट हटाएको छ ।
लिबियाको अवस्था एक्कासि बिग्रिएपछि शान्ति सेनामा खटिएका सुरक्षाकर्मीलाई त्रिपोलीबाट अन्यत्रै सारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पुष्टि गरेकी छन् । राजधानी त्रिपोलीमाथि कब्जा जमाउने उद्देश्यले विद्रोहीले आक्रमण सुरु गरेपछि सुरु भएको संकटका कारण अमेरिकी र भारतीय शान्ति सैनिक त्यहाँबाट अन्यत्रै सारिए पनि नेपाली शान्ति सेनालाई भने थप जिम्मेवारी दिइएको छ ।
बढ्दो संकटका बीच लिबियामा रहेको राष्ट्रसंघीय शान्ति मिसन मुख्यालय तथा त्यहाँमा कार्यरत कर्मचारीको सुरक्षा त्रिपोलीमा तैनाथ नेपाली शान्ति सेनाले गरिरहेका छन् । नेपाली सेनाका प्रवक्ता सहायक रथी यमप्रसाद ढकालले द्वन्द्व चर्किएपछि लिबियास्थित राष्ट्रसंघीय मिसनको सुरक्षा जिम्मा नेपाली सेनाले लिइरहेको जानकारी दिए । सहायक रथी ढकालले लिबियास्थित राष्ट्रसंघीय मिसनको सुरक्षा जिम्मा पाएका नेपाली शान्ति सैनिक सुरक्षित रहेको र आवश्यक पर्दा आत्मसुरक्षाका लागि हतियार चलाउन सक्ने बताए ।
विद्रोहीले त्रिपोलीस्थित अन्तर्राष्ट्रिय विमानस्थललाई ‘नो फ्लाई जोन’ घोषणा गरेपछि शान्ति मिसनमा कार्यरत केही कर्मचारीलाई सडक मार्ग मार्फत छिमेकी राष्ट्र ट्युनिसिया पठाउने कार्य सुरु गरिएको राष्ट्रसंघलाई उद्धृत गर्दै विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका विशेष प्रतिनिधि तथा लिबिया शान्ति मिसनका प्रमुख घासन सलामे लगायत उच्च पदस्थ पदाधिकारी भने नेपाली सेनाको सुरक्षा घेराभित्र छन् । हाल लिबियाली शान्ति मिसनमा दुई सय ३१ नेपाली शान्ति सैनिक कार्यरत छन् ।
नागरिकबाट





























प्रतिक्रिया