काठमाडौं
एक्सरे गरेर हेर्दा आन्द्रामा गाँठो देखिएपछि शल्यक्रियाका लागि सिन्धुपाल्चोक सुनकोसी गाउँपालिकाका ७० वर्षीय बलराम नेपाली काठमाडौैं आएका थिए । डाक्टरले शुक्रबारको समय दिएका थिए । तर शुक्रबारदेखि नै समायोजन प्रक्रियामा असन्तुष्टि जनाउँदै अपरेसन गर्ने चिकित्सक हडतालमा उत्रिएपछि उनको शल्यक्रिया हुन सकेन ।
सिन्धुपाल्चोकबाट छोरासहित आएका बलराम सोमबार पनि वीर अस्पताल परिसरमा चिकित्सकहरू काममा फर्केर आउने समय कुरिरहेको भेटिए । शल्यक्रियाका लागि वीर अस्पताल धाउनु नेपाली बाबु–छोराको दिनचर्या बनेको छ । जटिल किसिमको रोग देखिएकाले जसरी भए पनि अपरेसन गरेर मात्र घर जाने भन्दै उनीहरू शुक्रबारदेखि हरेक दिन ३ बजेसम्म वीर अस्पतालको प्रतीक्षालयमा बसेर बेलुका आफन्तको शरणमा बास बस्न जाने गरिरहेका छन् । उपचार नगरी घर नफर्कने अठोटका साथ वीर अस्पताल धाइरहेका बाबु–छोरा डाक्टरको हडताल छिटै अन्त्य भए हुन्थ्यो भन्ने अपेक्षामा छन् । निजी अस्पतालमा उपचार गर्न आर्थिक हैसियत नभएकाले सरकारी अस्पतालको मुख ताक्नुपरेको उनीहरू बताउँछन् ।
जुम्ला सिञ्जाबाट घुँडाको उपचार गर्न काठमाडौं आएकी मुगा वडको पीडा पनि बलरामको भन्दा कम छैन । घुँडा दुख्ने समस्याले सताएपछि उनी उपचारका लागि पतिलाई लिएर काठमाडौं आएको सोमबार एक महिना नाघिसकेको छ । भक्तपुरको होटलमा बसेर वीर अस्पतालमा उपचार गराउन धाउँदा करिब दुई लाख खर्च भइसकेको उनले बताइन् ।
चिकित्सकले वडलाई एक महिनाको औषधि दिएको र औषधिले ठीक नभए एमआरआई गरेर हेर्नुपर्छ भनेका थिए । औषधिले कुनै सुधार नआएपछि डाक्टरले भनेको एक महिनापछि सोमबार एमआरआई गर्न वीर अस्पताल आउँदा अस्पतालले हडताल भएकाले हेर्न नमिल्ने भन्दै फिर्ता पठाएको थियो । बरु इन्डिया गएको भए दुई हप्तामै उपचार भइसक्थ्यो भन्दै आफ्नै देशमा सहज ढंगले उपचार नपाउनुको दोष सरकारले लिनुपर्ने वडको भनाइ छ । उनले सरकार र चिकित्सकबीचको खिचातानीले बिरामीले सास्ती भोग्नु परेको गुनासो गरिन् ।
बलराम र मुगा मात्र होइन देशका विभिन्न ठाउँबाट उपचारका लागि काठमाडौं आएका सयौं बिरामी वीर अस्पताल परिसरमा अलपत्र अवस्थामा बसिरहेका थिए । चिकित्सकले चार दिनदेखि लगातार सेवा बहिस्कार गरेपछि उनीहरूको उपचार पाउने हक प्रभावित भएको हो ।
नागरिकबाट





























प्रतिक्रिया