मान्छे बाघको आहारा होइन

मान्छे बाघको आहारा होइन

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । डा. नरेश सुवेदी राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिवका रूपमा कार्यरत छन् । संरक्षणको क्षेत्रमा लामो समय काम गरेका डा. सुवेदी हिउँचितुवा, हात्ती र बाघहरूको अनुसन्धानात्मक काममा पनि उत्तिकै सक्रिय छन् ।

वन्यजन्तु विज्ञान वन अनुसन्धान संस्थान विश्व विद्यालय देहरादून, भारतबाट विद्यावारिधि गरेका उनी नीति निर्माणका क्षेत्रमा पनि अब्बल मानिन्छन् ।

नेपालमा बाघको सङ्ख्या दोब्बले बृद्धि भएको भनिएको छ । सङ्ख्या दोब्बर बनाउने कुरामा सफलता कसरी प्राप्त भयो ?

बाघको सङ्ख्या एकैचोटि दोब्बर भएको होइन । यसका लागि दश वर्षको समय लाग्यो । बाघको सङ्ख्या घट्नुको मुख्य कारण दश वर्षसम्म चलेको माओवादी जनयुद्ध प्रमुख कारण हो । किनभने द्वन्द्वको समयमा वन्यजन्तुको संरक्षणमा खटिएका सुरक्षाकर्मी राष्ट्रिय सुरक्षामा केन्द्रित हुँदा चोरी शिकारी बढ्यो र धेरै बाघहरू मारिए । द्वन्द्वको समयमा नेपालमा बाघको सङ्ख्या आधा नै घट्यो । बर्दियामा मात्र हेर्ने हो भने ६० प्रतिशत बाघको सङ्ख्या घटेको थियो ।

द्वन्द्वपछि २०१० मा १२३ को संख्यामा बाघ थिए । तर द्वन्द्वको समयमा वन जंगलमा चाहिँ चोरले फाइदा उठाए । त्यही भएर बाघको संख्या घटेको थियो । तर मुलुक शान्ति प्रक्रियामा आएपछि हामी बाघको संरक्षणमा जुट्यौँ र संख्या दोब्बर गर्नेतर्फ लाग्यौँ । नेपाली समुदाय, सुरक्षाकर्मी, स्थानीयबासी र संरक्षण सम्बन्धी संस्थाहरूको एकीकृत प्रयासको कारणले यो सम्भव भयो । बाघलाई संरक्षित क्षेत्रमा राख्नुपर्ने बाध्यता छ । ठूलो क्षेत्रफल उपलब्ध बाघलाई राख्दा संख्या वृद्धिमा सहयोग पुग्ने गर्छ ।

त्यसोभए बाघलाई ठूलो खुला क्षेत्रमा राख्नुको साटो सदर चिडियाखानामा ल्याएर राख्नु कत्तिको उचित छ ?

चिडियाखानामा बाघ राख्नु भनेको बाघको शैक्षिक ज्ञान प्राप्तिका लागि हो । किनभने नयाँ पुस्तालाई बाघ कस्तो हुन्छ भनेर कहाँ पढाउने ? जङ्गलमा गएर बाघ त देखिदैन । चिडियाखानामा राख्नुको मुख्य कारण शिक्षा नै हो । बाघ कस्तो हुन्छ भनेर नजिकबाट अवलोकनको लागि राखिएको हो । चिडियाखानामा राखिएका बाघहरू सबै समस्याग्रस्त बाघहरू हुन् । मान्छे खान पल्केका बाघहरूलाई मार्नका साटो ल्याएर राखिएको हो ।

चिडियाखानामा राख्दा पनि विश्व मापदण्डभित्र रहेर राख्नुपर्छ । त्यतिकै ल्याएर चिडियाखानामा राखेको होइन । केही समस्याग्रस्त बाघहरूलाई मात्र राखिएको हो । त्यसैले यसलाई जायज भन्न रुचाउँछु । अवलोकनकर्ताको सन्तुष्टि र शिक्षाका हिसाबले जायज छ । तर केही लोपोन्मुख जनावरहरूलाई चिडियाखानामा राखेर फेरि जंगलमा छाड्ने गरिएको छ ।

तपाईँको ३० वर्षको अनुभवमा बाघमा के कस्ता परिवर्तन आए ? इको सिस्टमले गर्दा या व्यवहारमा नै केही परिवर्तन आएको छ ?

बाघको व्यवहारमा तार्किक भिन्नता केही पनि हुँदैन । किनभने मान्छेसँगै बाघहरूको उत्पति र परिवर्तन सँगसँगै हुँदै आएको हो । त्यसैले ३० वर्षमा यो नै परिवर्तन भयो भन्ने छैन । केही जंगलहरू थिए ती अतिक्रमण भए, केही सुकुम्वासी वस्ती भए । तर बाघको आनीबानी चाहिँ केही पनि परिवर्तन भएको छैन ।

जलवायु परिवर्तनले पनि यसलाई केही असर गर्छ ?

जलवायु परिवर्तनले असर चाहिँ गर्न सक्छ । तर असर आजको आज नै देख्न सकिँदैन । के असर पर्छ भन्ने चाहिँ कसैले अध्ययन गरेर पत्ता लगाउन सकेको छैन ।

बाघको सङख्या बढ्दा मानिसलाई आक्रमण गर्ने र मानवीय जोखिम पनि बढेको देखियो । बाघको सङ्ख्या अझै पनि बढाउन जरुरी छ ?

नेपालको सन्दर्भमा करीब तीन सयको हाराहारीमा बाघ भयो भने एउटा सन्तुलन आउँछ । बाघको सङ्ख्या बढाउनुपर्छ भन्ने एजेण्डा होइन, अहिले भएको बाघलाई कसरी वैज्ञानिक व्यवस्थापन गर्ने, मानव र बाघको सहअस्तित्व कसरी कायम गर्ने भन्ने अहिलेको एजेण्डा हो । अर्को के बुझ्नुपर्छ भने जंगलमा भएका सबै बाघहरू समस्याग्रस्त हुँदैनन् ।

सयवटा बाघ छन् भने पाँचवटा मात्रै मान्छेसँग समस्यामा आउने हुन् । ९९ प्रतिशत बाघहरू मानिससँगको द्वन्द्वमा आउँदै आउँदैनन् । अहिलेको व्यस्थापनको चुनौति के हो भने पाँच प्रतिशत बाघहरू गाउँ बस्तीमा बस्छन् । अथवा बुढो भएका छन् र दुईवटा बाघ लड्दाखेरी घाइते भएका छन् भने समस्यामा पर्छन् । त्यसलाई जंगलमा ठाउँ ठाउँमा क्यामेरा राखेर मनिटरिङ गर्ने, समस्यामा आउन सक्ने बाघहरूलाई पहिचान गरेर अगाडि नै व्यस्थापन गर्‍यो भने मान्छे र बाघको द्वन्द्व हुँदै हुँदैन । किनभने मान्छे बाघको आहारा होइन, त्यो कुरा बुझ्नुपर्छ ।

चितवनको जंगलमा एकसय वटा बाघ छन् भने पाँचवटा बाघ मात्र समस्याग्रस्त हुन्छन् । त्यसैले निकुञ्ज व्यवस्थापनले के गर्नुपर्‍यो भने त्यो पाँचवटा बाघ कुन हुनसक्छ भनेर निरन्तर मनिटरिङ गर्नुपर्छ । त्यसपछि मान्छे र बाघको द्वन्द्व हुँदैन ।

अर्को ९८ प्रतिशत मान्छे र बाघको द्वन्द्व गाउँम होइन, जंगलमा नै भएको पाइन्छ । कसरी भन्दा निकुञ्ज क्षेत्रमा निगुरो टिप्न जाँदा, राति लुकेर माछा मार्न जाँदा, घाँस दाउरामा जाँदा द्वन्द्व भएको छ । त्यसैले मान्छेसँग बाघलाई कुनै रुचि छँदै छैन । बाघले तिमी यहाँ नआऊ भन्दा मान्दैन । त्यसले सचेत त मानिस नै हुुनुपर्छ । बाघको संङ्ख्या बढेर जनतालाई दुःख दियो भन्ने चाहिँ केही पनि छैन ।

चितवन निकुञ्जमा दुई लाख पर्यटक आएको कारण किन हो ? बाघ र गैंडाको कारणले नै हो । बर्दियामा २० हजार आएको कारण के हो ? बाघ र गैंडाकै कारणले हो । त्यसैले बाघलाई पर्यटकीय क्षेत्रका रूपमा बढी प्रयोग गरेर राज्यले फाइदा लिने कुराहरू प्राथमिकता दिनुपर्छ । बाघलाई जंगलमा नै राख्नको लागि बाघका आहारका प्रजातिहरू जंगलमा बढाउनुपर्छ । त्यसको लागि त्यहाँको घाँसे मैदानहरू सही किसिमले व्यस्थापन हुनुपर्छ । वैज्ञानिक तरिकाले काम गर्न सक्नुपर्छ ।

बाघको सङ्ख्या बढेसँगै अरू स–साना वा अन्य जनावरलाई चुनौती थपिने देखिन्छ । बाघको सङ्ख्या बढ्दा अरू जनावरको पनि सङ्ख्या बढाउने हो कि ? अथवा बाघलाई मात्र प्राथमिकता दिइएको हो ?

यदी बाघको संरक्षण गर्न सक्यो भने अन्य वन्यजन्तुरूलाई पनि सहयोग पुग्न सक्छ । किनभने जंगलमा बाघ मात्र रहने होइन । वासस्थानलाई राम्रो राख्न सकियो भने सबैखाले वन्यजन्तुलाई फाइदा हुन्छन् । बाघ बढी भएर अन्य जनावरलाई सकाउँछन् कि भन्ने कुरा चाहिँ हुँदैन । बाघले खाने भनेर बुढो भएकालाई, विरामीलाई, दौडिन नसक्नेलाई शिकार गर्नसक्छ । जनावरलाई छाट्ने काम गर्छ । त्यसैले बाघले खाएर लोप नै हुने अवस्था भने रहँदैन ।

वर्तमान अवस्थामा पहिला अपनाएका भन्दा फरक कस्तो शैली वा विधि अपनाएर संरक्षणको काम गर्दै हुनुहुन्छ ?
पहिलो काम जंगलमा के भइरहेको छ भने हेर्ने हो । गैंडा, बाघ कति छन भनेर हेर्ने हो । बच्चाहरूको अवस्था के कस्तो छ, भाले बाघ कति र पोथी बाघ कति छन् भन्ने कुराहरूको अध्ययन अनुसन्धान गर्नु जरुरी हुन्छ । हाम्रो राष्ट्रिय प्रकृतिसँग विभिन्न प्रजातिको निरन्तर मनिटरिङ गर्ने, बासस्थानको अनुगमन गर्ने र वैज्ञानिक रिपोर्टहरूको माध्यमबाट पनि राज्यलाई सुझाव र ज्ञान दिने कामहरू गरिरहेका छौँ ।

अहिले संसार टेक्नोलोजीमा चलिरहेको छ । त्यसैले नयाँनयाँ टेक्नोलोजीको प्रयोगबाट काम गरिरहेका छौँ । जनावरहरूमा स्याट्लाइट वा ड्रोनमा कसरी काम गर्न सकिन्छ, थर्मल ड्रोनको प्रयोगबाट चितवनमा गैंडाहरूको गणना कसरी गर्ने लगायतको कामहरू गरिरहेका छौँ । मानव र वन्यजन्तुको द्वन्द्व अलि बढ्दो अस्थामा छ । द्वन्द्वमा आउने वन्यजन्तुलाई व्यवस्थापन गर्ने काममा सरकारलाई वा हाम्रो संस्थाले काम गर्छ । वन्यजन्तु पीडित समूदायका लागि विभिन्न आय आर्जनका कार्यक्रमहरू, क्षमता अभिवृद्धिका कामहरू हाम्रो प्राथमिकतामा छन् ।

Logo