अब प्रदेश नं. ३ सरकारले पनि लगानीे सम्मेलन गर्ने

अब प्रदेश नं. ३ सरकारले पनि लगानीे सम्मेलन गर्ने

केन्द्रबिन्दु
0
Shares

हेटौँडा

सङ्घीय सरकारले सफलतापूर्वक लगानी सम्मेलन सम्पन्न गरेको एक महीनाभित्रै प्रदेश नं ३ सरकारले पनि देशभित्रकै लगानीकर्तालाई आकर्षित गर्न सोही प्रकृतिको कार्यक्रम गर्ने भएको छ ।

लगानीकर्तालाई प्रदेशका विभिन्न क्षेत्रमा लगानी गर्न प्रेरित गर्ने भन्दै सरकारले निजी क्षेत्रका व्यवसायीलाई भेला पारेर लगानीका लागि अनुरोध गर्ने भएको हो । एक सय देखि १५० सम्भावित लगानीकर्ता तथा विज्ञ लगायत दुई सयको सहभागितामा आगामी वैशाख ६ र ७ गते चितवनमा प्रदेशस्तरीय सम्मेलन गरिने मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

पाँच खम्बे नीतिलाई प्राथमिकतामा राखेर लगानीका बाटो खोलिने उद्देश्यसहित निजी क्षेत्रसँग वृहत छलफल हुन लागेको प्रदेश नीति तथा योजना आयोगका सदस्य श्यामकुमार बस्नेतले बताउनुभयो । आयोगको आधार पत्रले निर्दिष्ट गरेका तथा अध्ययनमार्फत पहिचान भएका आधारमा रहेर लगानीकर्तालाई अनुरोध गरिने उहाँको भनाइ छ ।

देशका लगानीकर्तालाई प्रदेशमा लगानीका लागि प्रेरित गर्ने आधार तय भएको प्रदेशसभा सदस्य बस्नेतले बताउनुभयो । आधार पत्रमा उल्लेख भए अनुसार प्रदेशको विकास र समृद्धिका लागि निजी क्षेत्रलाई सहभागी गराउन लागिएको हो । सम्मेलनपछि लगानीकर्ता प्रदेशको पर्यटन, कृषि, उद्योग लगायतको क्षेत्रमा लगानीका लागि आकर्षित हुने योजना आयोगको अनुमान छ ।

संघीय सरकारको वि.सं २०२० सम्ममा वार्षिक २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा गर्न पनि यही प्रदेशको मुख्य योगदान रहने जानकारहरु बताउँछन् । विश्व सम्पदा सूचीमा समावेश १० सम्पदामध्ये ८ वटा यही प्रदेशमा रहनु तथा लाङटाङ राष्ट्रिय निकुञ्ज, पर्सा राष्टिय« निकुञ्ज (कतिपय क्षेत्र) शिवपुरी राष्ट्रिय निकुञ्ज, गौरीशङ्कर संरक्षण क्षेत्र जस्ता महत्वपूर्ण वन सम्पदा पनि यही प्रदेशभित्र हुनु, साहासिक जलमार्गमा रुचि राख्ने पर्यटकका लागि त्रिशूली, सुनकोशी, भोटेकोशी जस्ता नदी हुनु , हिमाल आरोहणका लागि लाङटाङ, गणेश हिमाल, रोलवालिङ जस्ता हिमाल हुनु आदि पर्यटक भित्र्याउने आधार भएको पर्यटन क्षेत्रका जानकारहरु बताउछन् ।

प्रदेश नं ३ फलफूल उत्पादन, जडीबुटी तथा पशुपालनका दृष्टिले पनि निकै नै महत्वपूर्ण मानिन्छ । त्यसैले प्रदेशको कृषिक्षेत्र पनि लगानीका लागि उपयुक्त क्षेत्र रहेको कृषि क्षेत्रका अगुवा बताउँछन् । तथ्याङ्क अनुसार देशका ११ औद्योगिक क्षेत्रमध्ये प्रदेश नं ३ मा चारवटा औद्योगिक क्षेत्र छन् । बालाजु औद्योगिक क्षेत्र, पाटन औद्योगिक क्षेत्र, भक्तपुर औद्योगिक क्षेत्र र हेटौंडा औद्योगिक क्षेत्रमा देशमा भएका बहुराष्ट्रिय उद्योगहरु मध्ये ८० प्रतिशत भन्दा बढी उद्योगहरु यहाँ छन् ।

Skip This
Skip This
Logo