मेलम्ची खानेपानी आयोजना : पाइपलाइनको काम १० किमी मात्र बाँकी

मेलम्ची खानेपानी आयोजना : पाइपलाइनको काम १० किमी मात्र बाँकी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाले एक हजार किलोमिटर पाइपलाइनको काम सम्पन्न गरेको छ । खानेपानीको पहिलो चरणमा १ हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नु पर्नेमा अब १० किलोमिटर मात्र काम बाँकी छ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अन्तिम अवस्थामा पुगेको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले जानकारी दिएको छ ।

खानेपानी मन्त्रालयका अनुसार मेलम्चीको पानी उपत्यकामा आइसकेपछि नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि पानी वितरण गर्ने तयारी छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा रहेको निर्देशनालयको भनाइ छ । अब बाँकी काम सम्पन्न हुने चरणमा रहेको छ । निर्देशनालयका अनुसार थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको र थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।

पीआईडी प्रमुख कमलराज श्रेष्ठले चक्रपथभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न हुने अवस्थामा पुगेको र दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुने जानकारी दिए । “चक्रपथ बाहिरको क्षेत्रलाई याङ्ग्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ, मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा हुन्छ,” उनले भने, “पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।”

मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको उनले बताए । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनको भनाइ छ । “मेलम्ची आएपछि ६ महिनाको समय टेस्टिङमा लाग्ने छ, मेलम्चीको १७ करोड लिटर पानीमध्ये, टेस्टिङका लागि २ करोड नयाँ पाईपलाईबाट र अरु केयुकेएलको पुरानो पाइपलाइनबाट वितरण गरिने छ” श्रेष्ठले भने । उनका अनुसार दोस्रो चरणको कामका लागि पनि सम्झौता भइसकेको छ ।

खानेपानी विज्ञहरूले भने पाइपलाइन परीक्षणका क्रममा त्रुटी आए मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउन तीन महिना लम्बिन सक्ने बताएका छ । “म त अब खासै अन्य प्राविधिक समस्या आउने देख्दिनँ, प्राविधिक समस्या नआएको भए त मेलम्चीको काम सकिइसकेको थियो, यतिबेलासम्म उपत्यकामा मेलम्चीको पानी आइसक्थ्यो,” खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्याय भन्छन्, “हुन त पाइपलाइन ट्रायलको समयमा पनि समस्या आउन सक्छ, समस्या आयो फेरि २-३ महिना रोकिन सक्छ, यद्यपी अब मेलम्ची आउन समय लाग्दैन ।”काराेबारबाट

Logo