नबिल बैंकले नमस्ते पे वालेटसँग साझेदारी गरेको छ। साझेदारीसँगै नबिल बैंकका ग्राहकले नमस्ते पे वालेटका सेवा उपयोग गर्न सक्नेछन्।
मंगलबार आयोजित एक कार्यक्रमबीच नबिल बैंकका तर्फबाट रिटेल कारोबार बैंकिङ प्रमुख निरज शर्मा र नमस्ते पे वालेटका तर्फबाट डेपुटी सीईओ विनय बिजुक्छेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहकार्यसँगै नबिल बैंकका ग्राहकले एबीएनके मोबाइल बैंकिङ एप्लिकेशनमार्फत नमस्ते पे वालेटमा सजिलै पैसा लोड गर्न तथा वालेटबाट खातामा रकमान्तर गर्न सक्नेछन्।
सम्झौतामा हस्ताक्षर गर्दै नबिल बैंकका रिटेल कारोबार बैंकिङ प्रमुख शर्माले यो साझेदारीले बैंकका ग्राहक र नमस्ते पे प्रयोगकर्ताहरूले लाभ लिन सक्नुहुने बताए । उनले भने, ‘डिजीट़ाइजेसनमा महत्वपुर्ण योगदान दिदै आएको यस बैंकले अन्य संस्थाहरूसँग साझेदारी गर्दै उत्कृष्ट सेवा र सन्तुष्टि प्रदान गर्न प्रतिबद्ध रहेको छ।’
यसैगरी नमस्ते पे वालेटका डेपुटी सिइओ बिजुक्छेले सम्झौतामा हस्ताक्षर गर्दै भने, ‘नमस्ते पेले अत्याधुनिक सेवा प्रदान गर्ने र नेपालमा डिजिटल रूपान्तरणलाई क्रान्तिकारी बनाउने लक्ष्य राखेको छ ।’ उनले यो साझेदारीले नमस्ते पेको सेवा दायरा बढाउन र अझ बढी प्रयोगकर्तालाई आकर्षित गर्न मद्दत गर्ने बताए।
यस नयाँ प्लेटफर्मको अतिरिक्त, नबिल एनबैंक एप प्रयोगकर्ताहरूले अब ई सेवा, खल्ती, र नमस्ते पे वालेटका सेवाहरू पनि उपयोग गर्न सक्नेछन् । यो सेवा सुरु भएपछि, नबिल बैंकका ग्राहकहरूले थप सहज र सुरक्षित तरिकाले डिजिटल भुक्तानी गर्न सक्नेछन् ।





























प्रतिक्रिया