हावाहुरी पीडितलाई प्रदेश ३ को सहयोग

हावाहुरी पीडितलाई प्रदेश ३ को सहयोग

केन्द्रबिन्दु
0
Shares

हेटौँडा

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हावाहुरीबाट पीडित भएका बारा र पर्साका जनतालाई प्रदेश ३ सरकारले पनि सहयोग गर्ने बताउनु भएको छ ।

आँधीग्रस्त क्षेत्रको प्रत्यक्ष्य अवलोकनपछि कुरा गर्दै मुख्यमन्त्री पौडेलले विपद्को यो घडीमा यो वा त्यो प्रदेश नभनी सहयोग गरिने बताउनुभयो । पौडेलले प्रदेश ३ ले तत्काल राहत तथा पीडित जनताको पुनस्र्थापनाका लागि दीर्घकालीन व्यवस्थापनमा पनि सहयोग गर्ने उल्लेख गर्नुभयो ।

यसअघि बिहान सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख व्यक्त गर्नुभएका मुख्यमन्त्रीले बाराको फेटा तथा कलैयाका पीडितलाई भेटेर सान्त्वना एवं समवेदना व्यक्त गर्नुभएको मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो । मुख्यमन्त्रीसँग प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल, सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रधानमन्त्रीका सल्लाहकार अच्युत मैनाली, प्रदेशसभा सदस्य दीपक निरौला लगायतले घटनास्थलको अवलोकन तथा बारा र पर्साका विभिन्न अस्पतालमा पुगी बिरामीको स्वास्थ्य अवस्था बुझ्नुभएको संयोजक दाहालले बताउनुभयो ।

अवलोकन गरी फर्कनु भएका मुख्यमन्त्रीले घटनालाई दर्दनाक र त्रासदीपूर्ण प्राकृतिक विपत् भएको बताउँदै पीडितको व्यवस्थापनमा प्रदेशले के गर्न सक्छ छलफलपछि बताउने उल्लेख गर्नुभयो । सामाजिक विकासमन्त्री युवराज दुलालले प्रदेश ३ सरकारले आवश्यक औषधि उपचारसहित चिकित्सक तथा स्वस्थ्यकर्मीको टोली पठाएको र उनीहरुले बाराको अस्पतालबाट घाइते तथा बिरामीको उपचार गरिरहेको बताउनुभयो ।

यसैविच प्रदेश नं ३ को प्रदेशसभाको सोमबार बसेको बैठकले प्रदेश नं २ का बारा र पर्साको विभिन्न ठाउँमा आइतबार राति आएको हुरीबतासबाट मानवीय तथा धनजनको क्षति पुग्न गएकामा दुःख प्रकट गर्दै उक्त घटनामा मृत्यु भएकाको परिवारप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । बैठकले मृतात्माको चिरशान्तिको कामना गर्दै घाइतेको स्वास्थ्यलाभको कामना गरेको छ ।

सोही बैठकमा विशेष समयमा बोल्नु हुने प्रदेशसभाका सदस्यहरुले नागढुङ्गा काठमाडौँको यातायात सेवा बढी चापका कारण अस्तव्यस्त भई सर्वसाधारणले निकै दुःख भोग्नु परेको स्मरण गर्दै प्रदेश सरकारले तत्कालै सो सडकको निर्माण कार्य पूरा गरी धुलो नियन्त्रण गर्नेतर्फ प्रयास गर्नुपर्ने सुझाव दिनुभयो । उहाँहरुले हेटौँडा कुलेखानी सडक अन्तर्गत पर्ने सिस्नेरी र फाकेल सडक निर्माणलाई अग्रता दिन प्रदेश सरकारले छुट्टै कार्यदल बनाई उक्त सडकलाई फराकिलो पार्ने र ढल निकासको व्यवस्था गरी सवारी दुर्घटनालाई नियन्त्रण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालयले विशेष पहल गर्नुपर्ने आग्रह गर्नुभयो ।
रासस

Logo