काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ रहेको पाइएको छ । विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै प्राधिकरणसँग उक्त आकारकाे सम्पत्ति रहेको जानकारी दिएका हुन् ।
प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्ब रुपैयाँ रहेको थियो । हाल प्राधिकरणका कुल सम्पत्ति ६ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको घिसिङले बताए । ‘प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदाता मार्फत आफ्नो सम्पत्तिको वास्तविक मूल्याङ्कन गरिएको छ, जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिन्छ,’ उनले भने । प्राधिकरणको आम्दानी १ खर्ब १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ ।
विगत ८ वर्षमा मात्र प्राधिकरण करिव एक खर्ब रुपैयाँ पूँजिगत लगानी गर्न सक्षम भएको छ । साथै विगत आठ वर्षमा प्राधिकरणले आफ्ना सहायक र सम्बद्ध कम्पनीहरूमा ५६ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी लगानी गरेको बताइएको छ । देशभर रहेको जग्गाहरूको एकीन गरी करिव ४० हजार २ सय रोपनी जग्गाको पहिचान भएको प्राधिकरणले जनाकारी दिएको छ । गत वर्ष मात्र काठमाडौ उपत्यका भित्रको करिव ७२ रोपनी १२ आना जग्गाको पूर्जा प्राप्त भएको प्राधिकरणले बताएको छ ।
देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत भारतीय प्रतिस्पर्धी बजारको डे–अहेड र रियल टाइम मार्केट र मध्यकालीन सम्झौताबमोजिम विद्युत् निर्यात गरेकाे घिसिङले बताए । उनका अनुसार विद्युत् निर्यात परिमाण हरेक वर्ष बढी रहेकाे छ ।
नेपालले औपचारिक रूपमा विद्युत निर्यात नोभेम्बर २०२१ बाट शुरु गरेको थियो । निर्यातको मात्रा बढ्दै गएर गत आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ९४ करोड युनिट विद्युत् निर्यात गरी १७ अर्ब ७ करोड रुपैयाँ आम्दानी भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।
घिसिङका अनुसार वर्षायाममा दैनिक ७ सय मेगावाटभन्दा बढी विद्युत् निर्यात भइरहेको छ । सुख्खायाममा नदीमा पानीको बहाव घटी देशभित्रका नदी प्रवाही जलविद्युत् गृहहरूबाट विद्युत् उत्पादन घट्ने हुँदा माग धान्न गाह्रो पर्ने पनि घिसिङले जानकारी दिए । जसको फलस्वरुप गत आ.व.मा भारतबाट १ अर्ब ९१ करोड युनिट अर्थात् १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरिएको छ ।यसरी गत आर्थिक वर्षमा आयातभन्दा करिव १३ करोड रुपैयाँ बढीको विद्युत् निर्यात भएको छ ।
प्राधिकरणले आर्थिक वर्ष २०८०/८१ बाट खुद विद्युत् आयातकर्ताबाट नेपाल खुद विद्युत् निर्यातकर्ता बनेर इतिहास बनाउन सफल भएको प्रमुख कार्यकारी निर्देशक घिसिङले बताए ।





























प्रतिक्रिया