पुर्व प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको राजनीतिमा संघिय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई उल्टाउने मनसायका साथ षडयन्त्र भईरहेको बताएका छन् ।
रिपोर्टस क्लबको २१ आँै बार्षिकोत्सवको अवसरमा राजधानीमा आईतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री दाहालले विकास र सम्मृद्धिको संंकल्पको अभियान विरुद्ध षडयन्त्र भएको दाबी गरे ।
प्राप्त उपलब्धिलाई नोक्सान पुर्याउनका लागि विस्तृत शान्ति सम्झौता र त्यसका हस्ताक्षरकर्ता, संविधान निर्माण गर्ने व्यक्ति वा त्यसको नेतृत्व लिने व्यक्ति माथि प्रहार गर्दा नै वर्तमान प्रक्रिया उल्टाउन सकिन्छ भन्ने सोच बोकेकाहरुको गलत प्रवृति मुलुकमा देखा परेको टिप्पणी उनले गरे ।
त्यस्तो प्रवृत्तिलाई छुट दिने तथा समयमै जनमतद्धारा परास्त नगर्ने हो भने सम्मृद्धि र विकासको महाअभियानको संकल्प प्रभावित हुन सक्ने भन्दै उनले सबैलाई सचेत हुन आग्रह गरेका छन् ।
आफ्नो अमेरिका भ्रमणका क्रममा पनि त्यस्तै प्रवृत्ति देखा परेको टिप्पणी उनले गरेका छन् । उनले भने,“हामी शान्ति सम्झौताको समर्थन गर्छौँ । राजनीतिक स्थायित्वको समर्थन गर्छौँ ।
राजनीतिक समझदारी र राष्ट्रिय समझदारीको समर्थन गर्छौँ भने एउटा नेपालीले यो प्रक्रियामा सहभागी नेतृत्वलाई अपराधीको रुपमा हत्याराका रुपमा दुनियाँको अगाडि, त्यो पनि विदेशी राष्ट्रमा बसेर नेपालको शान्ति सम्झौतालाई आपराधिक सम्झौताको रुपमा त्यसको हस्ताक्षर कर्तालाई एउटा अपराधीको रुपमा अन्तराष्ट्रिय जगतले गिरफ्तार गरेर जेल हाल्नु परो भन्नु कति तर्कसंगत छ ? यसले हाम्रो राष्ट्रिय आवश्यकतालाई कत्तिको सम्बोधन गरेको छ ? ”
अमेरिकामा बस्दै गर्दा वासिङटन डिसिस्थित नेपाली कांग्रेसको समितिले “प्रचण्ड अपराधी हो र हत्यारा हो यसलाई गिरफ्तार गर्नुपर्छ” भनेर निर्णय गरेको तर्फ उनले नेपाली कांग्रेसको ध्यानाकर्षण गराए ।
राष्ट्रिय एकता र महत्व, नेपालले प्राप्त गरेको राजनीतिक स्थायित्व र विकासको महाअभियान कमजोर पार्ने गरि र वद्नाम पार्ने गरि या नेपालीका बीचमा कायम भएको एकता विथोल्ने प्रयास भईरहेको पनि उनले दाबी गरे ।
निर्वाचनको समयमा तराई मधेस पहाड, हिमाल, सबैलाई एकजुट गर्न आफुले ठुलो मेहनेत गरेको भन्दै उनले एकताका लागि गरिएको प्रयास नै गलत थियो ? भनी प्रश्न गरे ।
उनले भने, “के मैले शान्ति सम्झौता गर्नु अपराध थियो ? के संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माणमा नेतृत्व लिनु अपराध थियो ? के तराई,मधेस, हिमाल, पहाड सबैलाई जोडेर निर्वाचनको महाअभियान तर्फ देशलाई लैजाने कुरा अपराध थियो ? या अहिले हामी स्थायित्व र सम्मृद्धिको कुरा गरेका छाँै । ती कुराहरु गलत हुन् ? ”
सम्मृद्धिको नया अभियान तर्फ मुलुकलाई लैजाने विषय कोही व्यक्ति विशेषको एक्लो प्रयास मात्रै नभएको भन्दै उनले निकै कठिनाईका साथ विचार, नेतृत्व, अभियान र जनताको सहयोगको विशिष्ट संयोजनबाट मात्रै दुईतिहाईको सरकार बन्ने अवस्था श्रृजना भएको बताए । यस ऐतिहासिक उपलब्धिलाई नमिठो र तितो ढंगले आक्रमण गर्ने काम भएको भन्दै उनले दुख व्यक्त गरे ।
असाध्यै जटिल र चुनौतिपुर्ण परिस्थितिबाट नेपालको इतिहासलाई नया मोड दिईसकेको र त्यसका लागि प्रमुख राजनीतिक दल, नेता लगायतको सहमति र सहयोग रहेको भन्दै उनले नया संकल्पका लागि एकतावद्ध हुन आव्हान गरे ।
उनले राष्ट्रका अगाडि रहेका प्रमुख समस्या समाधान गर्नका लागि शान्ति सम्झौता देखि संक्रमणकालको समापन, संविधान निर्माण, निर्वाचन, नया संरचना र ऐन निर्माणमा जस्तै मुलुकलाई नया युग तर्फ लैजान पनि राष्ट्रिय सहमति र संकल्पको खाँचो रहेको औँल्याए ।
व्यक्ति विशेष भन्दा नेपाल र नेपालीको एकता र संघिय लोकतान्त्रिक गणतन्त्र र सम्मृद्धिको अभियान रहनुपर्ने भन्दै उनले राष्ट्रको मुल एजेण्डामा एकताबद्ध हुन आव्हान गरे ।
मुलुकबाट हटिसकेको राजसंस्था फर्काउनका लागि भईरहेका क्रियाकलापको कुनै अर्थ नरहेको टिप्पणी गरे । उनले भने, “कोही पनि निरंकुशतावादी शक्ति, कोही पनि इतिहासको मञ्चबाट मिल्काईएको शक्ति, सजिलै त्यसलाई आत्मसाथ गर्दैन र मौकापाए सम्म फेरी पुनस्थापित हुने कसरत गरिराख्छ । ”
इतिहासको सत्यता र नेपालको आवश्यकतालाई सतही ढंगले व्याख्या नगर्न पनि उनले सचेत गराए ।































प्रतिक्रिया