काठमाडौँ । काठमाडौँ मोडल कलेज (केएमसी)ले प्लस टु परीक्षा दिएका विद्यार्थीहरूलाई लक्षित गरी आयोजना गरेको इनोभेट टेक ई-स्पोर्ट्स श्रृंखलाको पब्जी प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा योन्को ई-स्पोर्ट्स टोलीले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको छ । यो टोलीले ट्रफीका साथ २५,००० नगद पुरस्कार जितेको छ ।
प्रतियोगितामा रेकर्स टोलीले पहिलो रनरअपको स्थान हासिल गर्दै १५,००० नगद पुरस्कार प्राप्त गरेको छ भने स्किल म्याटर्स टोलीले दोस्रो रनरअपको स्थान हासिल गरी १०,००० नगद पुरस्कार जित्न सफल भएको छ । साथै, यी तीनवटै टोलीलाई काठमाडौँ मोडल कलेजले कलेजका विभिन्न शैक्षिक कार्यक्रमहरूमा १० लाख बराबरको छात्रवृत्ति प्रदान गरेको छ । यस प्रतियोगितामा ४ प्रदेशका १० भन्दा बढी जिल्लाहरूका २४ वटा टोलीले सहभागिता जनाएका थिए । प्रतियोगितामा ४वाई देब्रेलाई सर्वाधिक मूल्यवान् खेलाडीको रूपमा चयन गरिएको छ ।

यो कार्यक्रम काठमाडौँ मोडल कलेजको टेकभर्स क्लबद्वारा समन्वय गरिएको थियो । क्लब प्रमुख सभ्यता भट्टराईले कलेजले उठाएका यस प्रकारका पहलहरूको प्रशंसा गर्दै नयाँ पुस्ताको रुची र उत्साहलाई शैक्षिक कार्यक्रमहरूसँग एकीकृत गर्दै नयाँ आयाम स्थापित गर्न काठमाडौँ मोडल कलेज सधैँ अग्रसर रहेको बताइन् । उनले भनिन्, ‘यस प्रकारका प्रतियोगिताहरूले विद्यार्थीहरूको प्रतिभा प्रदर्शन गर्न मात्र नभई उनीहरूको आकांक्षा र भविष्यलाई नयाँ दिशा दिन मद्दत पुर्याउँछ।’
काठमाडौँ मोडल कलेजले यस किसिमका कार्यक्रमहरूलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाएको छ । इनोभेट टेक श्रृंखलाले ई-स्पोर्ट्स र शैक्षिक क्षेत्रबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको कलेज प्रमुख सुरेन्द्र सुवेदीले बताए ।
































प्रतिक्रिया