भीमबहादुरको ब्यथाः अनलाइनमा भाइरल, अफलाइनमा कहालीलाग्दो

भीमबहादुरको ब्यथाः अनलाइनमा भाइरल, अफलाइनमा कहालीलाग्दो

केन्द्रबिन्दु
0
Shares

(अनुपम भट्टराई)

इन्टरनेटका विविध आयामहरु फेसबुक, ट्वीटर, युट्युव, टिकटक, अनलाइन मिडिया लगायतमा चर्चित व्यक्ति हुन् भीमबहादुर बिक । उनको शारिरिक अवस्था, हाउभाउ, जीवनशैली र दायित्वका कारण उनी चर्चित बनेका हुन् । सञ्चार माध्यमहरुले त उनलाई खोज्ने नै भए । उनको दैनिकीदेखि दायित्वसम्मका हरेक विषयवस्तुहरु सार्वजनिक भैसकेपछि विभिन्न संघसंस्थाहरु उनलाई खोजीखोजी भेटन् पुगेका छन् । अचम्म त के छ भने पछिल्लो युवापुस्ताहरु उनीसँग फोटो खिच्न मरिहत्ते गर्छन् ।

को हुन् भीम बहादुर ?

यतिधेरै भाइरल बनेका भीमबहादुरलाई नचिन्ने सायद कमै होलान् । उनी नवलपरासीस्थित हर्दी गाउँपालिकाका स्थायी बासिन्दा हुन् । उनको नाम र जीवनकथा सुन्दा लाग्दो हो, उनको नाममा जोडिएको दुबै शब्दले उनलाई हेला गरेछ क्यारे ।

उनको नाममा ‘भीम’सँगै जोडिएको छ ‘बहादुर’ । ‘भीम’ आफैमा बलियो त्यसमाथि ‘बहादुर’ । झट्ट सुन्दा त उनी निकै बलवान र शक्तिशाली हुनुपर्ने हो । तर नाम त केवल चिनारी मात्रै न हो । त्यसैले त कयौ धनबहादुरहरु गरिव छन् भने कयौ गरिवनाथहरु धनधान्य छन् ।

शारिरिक रुपमा अशक्त उनले ५० वटा हिउँद बर्षा बिताईसकेका छन् । उनी भाइरल हुनुको एउटा मुख्य कारण हो उनको शारिरिक जिउडाल । उनी सानो कदका छन् तर उनको सोच र जीवनशैली कयौ गुणा ठूलो छ । ‘कुनै पनि मानिसको शारिरिक अवस्था हेरेर उसको मुल्यांकन गर्नु हुँदैन ।’ भन्ने भनाईको चरितार्थ गरिदिएका छन् उनले ।

उनको गुजारा चलाउने जक्सन हो चितवन र तनहुँ जोड्ने त्रिशुली नदीको झोलुंगे पुल । बिहानदेखि साँझसम्म उनी यही हुन्छन् । उनको घर हर्दिबाट कालीगण्डकी नदीको पुल तर्दै देवघाटस्थित त्रिशुली नदीको पुलसम्म आउन सामान्य मानिसलाई एक घण्टा लाग्छ ।

अब अनुमान गरौ त उनलाई कति समय लाग्ला ? केन्द्रबिन्दुसँगको कुराकानीमा उनले आफूलाई घरदेखि देवघाटधामसम्म पुग्न डेढदेखि २ घण्टासम्म लाग्ने बताए । आउजाउ गर्न कम्तिमा पनि ३ देखि ४ घण्टा समय लाग्छ । उनी बिहान ८ बजेभित्र खाई सक्छन् । त्यसपछि उनी आफ्नो कर्मथलो देवघाटधाम लाग्छन् ।

उनी यहाँ आउनुको एउटै उद्देश्य हो गुजारा चलाउने । उनी यहाँ मागेर आफ्नो जिवीका चलाउँछन् । उमेरले ५० नाघेका, शसक्त शारिरिक अवस्था मात्रै होइन उनीमाथि आमाबाबु पाल्ने दायित्व पनि छ । उनले अहिलेसम्म मागेर आफूसहित अभिभावक पनि पाल्दै आएका छन् ।

उनका लागि के घाम के पानी, के जाडो के गर्मी । हामीले भेट्दा पनि मौसम निकै जाडो थियो तर भीमबहादरको मुहारको जाडो कुनै आभास थिएन । जीउ नै कठ्यांग्रिने चिसोलाई मनभित्र लुकाएर उनी फिस्स हाँसिरहेका थिए । जाडो गर्मी भनेर घरमै बस्यो भने उनको परिवारको पेट खाली हुन्छ । त्यसैले त उनले पेटलाई भर्न घाम पानी, जाडो गर्मी सहेर भए पनि मिठो मुस्कान छरिरहे ।

शारिरीक रुपमा अशक्त भएपनि उनको अनुहारले स्पष्ट रुपमा देखाउँछ कि उनको मन निश्चल र सफा छ । कुनै लोभ, लालच र उच नीचको भावना उनमा छैन । काठमाण्डौका पुल पुलमा बसेर खुट्टा समाउने जस्तो प्रवृत्ति उनमा छैन । एक रुपैयाँको ‘डलर’ पैसा हालेको डिब्बा बजाउँछन्, त्यसकै भरमा उनलाई कसैले पैसा दिन्छन् भने कसैले बेवास्ता गर्छन् । दिए पनि ठिकै र नदिए पनि । फिस्स हाँसिदिन्छन् र मीठो मुस्कानले धन्यवाद व्यक्त गर्छन् । उनी त्यसमै सन्तुष्ट छन् ।

बिहान आमाले पकाईदिएको खाना खाएर कर्मथलो हिडेका उनी बेलुका अबेर मात्रै घर पुग्छन् । उनी दिउँसो नजिकैको पसलमा चिया र पाउरोटी खाने गर्छन् । सानो घरमा २ जना आमाबुबा र उनी अहिलेसम्म त्यसरी नै जीविकोपार्जन गरिरहेका छन् । उनीहरुको घर पनि भूकम्पले क्षति पुगेको छ ।

भाइरल बनेपछि सहयोग

मागेर जसोतसो जिविका चलाईरहेका भीमबहादुर एकाएक भाइरल बनेपछि धेरैको ध्यान खिच्यो । ‘बाटोमा मागेर बस्ने सामान्य मानिस किन यतिधेरै चर्चित बने ?’ भन्ने धेरैको मनमा जिज्ञासा पैदा भयो । यिनै र यस्तै जिज्ञासाहरुका कारण उनी झनै भाइरल बने ।

इन्टरनेटमा उनी यतिधेरै चर्चित बने कि उनीसँग फोटो नखिच्ने मान्छे ‘समाजमै नपरिएला कि’ झै भएको छ । यसरी उनलाई भेट्न जानेहरुले गरेको केही सहयोगले उनलाई राहत पनि मिलेको छ । यसमा उनी पनि खुशी नै छन् । भूकम्पले क्षतिग्रस्त घरमा बसिरहेका भीमबहादुरको नयाँ घर बन्ने भएको छ । नायक पल शाहले उनको घरको शिलान्यास गरेका छन् ।

पछिल्लो समय कलाकारहरु पनि समाजसेवामा लागिरहेका बखत गतिलो उदाहरण बनेका छन् पल शाह । यसअघि सिताराम कट्टेल (धर्मुस) र सुन्तलीले धर्मुस सुन्तली फाउन्डेशनमार्फत विभिन्न ठाउँमा नमुना वस्ती निर्माण गरेको थिए । अहिले उनीहरु गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा जुटिरहेका छन् । अर्का कलाकार श्वेता खड्काले पनि सिन्धुपाल्चोकको झ्याँडी गाउँमा बस्ती निर्माण गरिरहेकी छन् ।

निश्कर्ष

मानिससँग खाने मुख मात्रै हुँदैन काम गर्ने हात खुट्टा पनि हुन्छ । मुखको काम ‘खाने’ हो भने हातखुट्टाको काम ‘काम गर्ने’ हो । यदि हामीलाई मुख अनिवार्य छ भने हातखुट्टा पनि अनिवार्य छ । के हामीसँग मुख मात्रै भएर हातखुट्टा नभएको भए पनि हुन्थ्यो ? पक्कै हुदैनथ्यो । यसको मतलव हातखुट्टा पनि तपाईलाई चाहिन्छ । यदि हातखुट्टा चाहिन्छ भने हातखुट्टाले गर्ने काम पनि त अनिवार्यरुपमा गर्नुपर्याे नि ।

हाम्रो समाजमा अनेक खालका मानिसहरु हुन्छन् । हातखुट्टालाई त्यतिकै राखेर मुखमा मात्रै मिठो मिठो स्वाद चाख्न चाहन्छन् । शारिरिकरुपमा सक्षम हुँदाहुँदै पनि अल्छीपना र स्वार्थका कारण परिश्रम गर्नुको सट्टा अनैतिक र गैरकानूनी धन्दा अपनाउँछन् । कोही सामाजिक मर्यादाविपरित अमानवीय गतिविधीमा लाग्छन् । कतिपय सक्षम हुँदाहुँदै पनि मागेर जिविका चलाउँछन् ।

तर, कुनै काम गर्नका लागि उसको शारिरिक अवस्थाले नै साथ दिँदैन भने विकल्प के त ? उनलाई कि परिवारका अन्य सदस्यहरुको साथ चाहिन्छ कि त मागेर जिविका चलाउनुपर्छ । भीमबहादुरले पनि परिवारको साथ नचाहेका त कहाँ हो र । तर के गर्नु, उनको अभिभावक नै उनको साथ खोजिरहेका छन् । वयोवृद्ध आमाबाबुले छोराको साथ खोज्नु स्वभाविकै हो त्यसैले त भीमबहादुरले दोश्रो विकल्प अपनाएका छन् ।

परिवारको पेट पाल्नका लागि भीमबहादुरले अपनाएको अन्तिम विकल्पमा तपाई हामीले थोरै थारै सहयोग गर्ने हो भने पनि उनलाई ठूलो राहत मिल्ने पक्का छ । ‘एक थुकी पो सुकी, सयौ थुकी त नदी बन्न सक्छ ।’

भीमबहादुर त के केवल उदाहरण मात्रै हुन् । हाम्रो समाजमा उनीजस्ता थुप्रै व्यक्तिहरु जीवन जिउन संघर्ष गरिरहेका छन् । ‘सच्चा पीडितलाई गरेको सहयोग आफ्नै भण्डारमा भरेको अन्न जस्तै हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्दै हामी पनि हातेमालो गर्ने कि !

Skip This
Skip This
Logo