हरेक मान्छेले काम परिश्रमिकका लागि गर्ने गर्दछ । काम गरेपछि आफ्नो या अर्को संस्थाबाट होस् तलब अधिकांश मान्छेले लिने नै गर्छन् । विश्वमा कमै व्यक्ति छन् जो आफ्नौ संस्थामा काम गरेपछि परिश्रमिक बुझ्दैनन् । तपाईंले पनि कहिले काम गरेपछि परिश्रमिक नलिएको नाम सुन्नु भएको छ ? जे होस् काम गरिसकेपछि परिश्रमिक लिइन्छ । तर, कहिले सोच्नुभएको छ एशियाका सबैभन्दा धनी व्यक्ति र रिलायन्स इन्डस्ट्रिज आरआइएलका अध्यक्ष मुकेश अम्बानी र उनको परिवारले कति तलब बुझ्छन् भनेर ।
लाग्न सक्छ उनीहरुले मासिक करोडौं रुपैयाँ तलब होला । तर, मुकेश अम्बानीले चार वर्षदेखि कम्पनीबाट तलब लिएका छैनन् । कम्पनीका प्रमुख मुकेश अम्बानीले आर्थिक वर्ष २०२०/२१ देखि तलब नलिएका हुन् । ६७ वर्षीय अम्बानीले कोरोना महामारीको समयदेखि यस्तो निर्णय गरेका हुन् । यसको उद्देश्य बचत देखाउनु र कठिन समयमा कम्पनीलाई समर्थन गर्नुथियो । अम्बानीले सन् २००८ देखि २० सम्म आफ्नो वार्षिक तलब १५ करोड भारु तोकेका थिए । त्यसयता उनले कुनै पनि तलब, भत्ता, सुविधा वा अवकाश प्राप्त गरेका छैनन् ।
पछिल्लो वार्षिक रिपोर्टका अनुसार अम्बानीले आर्थिक वर्ष २०२३/२४ मा पनि तलब नलिने आफ्नो निर्णयलाई जारी राखेका छन् । उनी सन् १९७७ देखि रिलायन्सको बोर्डमा छन् । सन् २००२ मा बुबा धिरुभाई अम्बानीको निधनपछि उनले अध्यक्षको पदभार ग्रहण गरेका थिए । गत वर्ष उनी अप्रिल २०२९ सम्म ५ वर्षका लागि पुनः अध्यक्षमा अम्बानी नियुक्त भएका थिए । यो अवधिमा पनि उनले तलब लिने छैनन् । यद्यपि, उनीहरूसँग व्यापार यात्राको क्रममा भएको यात्रा, आवास र सञ्चार खर्च र आफ्नो र आफ्नो परिवारको सुरक्षा खर्चको प्रतिपूर्ति गर्ने अधिकार छ ।
मुकेश अम्बानी १०९ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वका ११औं धनी व्यक्ति हुन् । उनी र उनको परिवारको रिलायन्स इन्डस्ट्रिजको ५०.३३ प्रतिशत स्वामित्व छ । उनले कम्पनीबाट २०२३ २४ मा प्रति शेयर १० रुपैयाँको दरले लाभांशको रूपमा ३,३२२.७ करोड रुपैयाँ आम्दानी गरे ।
अम्बानीले तलब नलिँदा बोर्डका अन्य सदस्यको पारिश्रमिक बढेको छ । उनका काका निखिल र हितल मेसवानीले आर्थिक वर्ष २०२३/२४ मा २५.३१ करोड र २५.४२ करोड रुपैयाँ कमाए । कार्यकारी निर्देशक पीएमएस प्रसादको पारिश्रमिक गत वर्ष १३.५० करोडबाट बढेर १७.९३ करोड पुगेको छ ।
मुकेश अम्बानीकी पत्नी नीता, जो अगस्ट २०२३ सम्म गैर–कार्यकारी निर्देशक थिइन् । उनले २०२३–२४ को लागि सिटिंग शुल्कको रूपमा २ लाख र कमिशनको रूपमा ९७ लाख प्राप्त गरिसकेकी छिन् । गत असोजमा बोर्डमा नियुक्त भएका उनका छोराछोरी इशा, आकाश र अनन्तले सिटिंग शुल्क वापत ४ लाख र कमिसन ९७ लाख पाएका थिए ।





























प्रतिक्रिया