काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले घोषणा गरेको नेपाल बन्द फिर्ता लिएको छ । चैत १६ गते नेपाल बन्दको घोषणा गरेको विप्लवको पार्टीले एसईईलाई लक्षित गर्दै बुधबार बन्द फिर्ता लिएको हो ।
सरकारले पार्टीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि पहिलो पटक बसेको स्थायी समिति बैठकले सोमबार नेपाल बन्दलगायत चरणबन्द आन्दोलनको घोषणा गरेको थियो। नेपाल बन्द घोषणा गरेकै दिन नेपाल बार एसोसिएसनको चुनाव र एसईईको परीक्षा परेपछि विप्लव पार्टीले बन्द फिर्ता लिने निर्णय गरेको हो ।
बार एसोसिएसन र राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले बन्द फिर्ता लिन आग्रह गरेका थिए। त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि बन्द फिता लिन आग्रह गरेको थियो ।
विप्लवको पार्टीले घोषणा गरेको संर्घषका कार्यक्रम अन्तर्गत चैत १३ गते देशभर चोक जुलुस, चैत १४ गते देशभर कोणसभा, चैत १५ गते मशाल जुलुस, चैत १६ गते शनिबार नेपाल बन्द, चैत १९ देशभर अन्तरक्रिया, चैत २१ जनवर्गीय सङ्गठनका विरोध प्रदर्शन, चैत २२ र २३ गते कालो झन्डा प्रदर्शन, चैत २४ देशव्यापी जनप्रदर्शन र जनसभा गर्ने उल्लेख थियो । बन्द बाहेक अन्य कार्यक्रम यथावत रहने छन् ।






























प्रतिक्रिया