काठमाडौं
प्रधानमन्त्री केपी ओलीले नेत्रविक्रम चन्द विप्लव समूहका गतिविधि चैतभित्रै नियन्त्रणमा लिने बताएका छन् । पार्टी संसदीय दलको बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले हिंसात्मक गतिविधिमा सरकार चुप लागेर बस्न नसक्ने भन्दै चैतभित्रै नियन्त्रणमा लिने दाबी गरेका हुन् ।
‘चैतभित्र विप्लव समूहको अतिवादी विध्वंसात्मक क्रियाकलाप नियन्त्रण गरिसक्छौं,’ प्रधानमन्त्रीले भने, ‘विकास निर्माण र लोकतन्त्रमा अवरोध गर्ने, समाजवाद उन्मुख हाम्रा प्रयासलाई अवरोध गर्ने, कम्युनिस्ट पार्टीको सरकारलाई असफल पार्ने अनि हँसिया हथौडाकै झन्डा लिने, नाम कम्युनिस्ट पार्टीकै राख्नेहरूलाई नियन्त्रणमा लिन्छौं ।’
सरकारले गत फागुन २८ गते विप्लवका गतिविधि नियन्त्रणमा लिने गरेको थियो । त्यसयता उसका नेता कार्यकर्तामाथि सरकारले कडा निगरानी राख्ने, धरपकड गर्ने र नियन्त्रणमा लिने काम गरिरहेको छ ।
सरकारलाई नै प्रतिबन्ध लगाउने विप्लवको चेतावनी
यता सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पार्टीमाथि लगाएको प्रतिबन्ध नहटाए सरकारविरुद्ध नै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । पार्टी स्थायी समिति सदस्य तथा मध्य कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली लगायत नेता कार्यकर्ताको गिरफतारीपछि उक्त पार्टीका महासचिव विप्लवले सोमबार वक्तव्य जारी गरी त्यस्तो चेतावनी दिएका हुन् ।
चैत महिनाभित्र प्रतिबन्ध हटाएर शान्तिपूर्ण कार्यक्रम गर्न नदिए केपी ओली सरकारका कार्यक्रमहरूविरुद्ध प्रतिबन्ध र आमहडतालको तयारी गर्ने चेतावनी दिएका हुन् ।
चैत १६ गते शनिबार नेपाल बन्दको समेत घोषणा गदै विप्लवले पार्टी स्थायी समिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम तय गरेको समेत जनाएका छन् । चन्दले सोमबार बेलुकी वक्तव्य दिएका हुन् ।
अन्नपूर्णबाट































प्रतिक्रिया