सिन्धुपाल्चोकमा पुनर्निर्माण अन्तिम चरणमा

सिन्धुपाल्चोकमा पुनर्निर्माण अन्तिम चरणमा

केन्द्रबिन्दु
0
Shares

सिन्धुपाल्चोक

विनासकारी भूकम्पबाट सर्वाधिक क्षति बेहोरेको सिन्धुपाल्चोकमा ६२ हजार घर पुनर्निर्माण सकिएको छ । भूकम्पको झण्डै चार वर्ष हुँदै गर्दा उक्त संख्यामा नयाँ घर बनेका हुन् ।

जिल्ला आयोजना कार्यान्वयन इकाइ, अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको तथ्यांक अनुसार झण्डै ७१ प्रतिशत नयाँ घर बनिसकेका छन् । पछिल्लो एक महिनामा मात्रै पाँच हजार घर पुनर्निर्माण भएका हुन् । फागुनसम्म ५८ हजार घर बनेका थिए ।

पुनर्निर्माण अभियान थालनी भएको भने बल्ल तीन वर्ष बित्न लाग्दैछ । भूकम्पको एक वर्षपछि २०७३ वैशाख १२ गते सबैभन्दा बढी भौतिक क्षति भएको सिन्धुपाल्चोकबाटै पुनर्निर्माण अभियान थालनी गरिएको थियो । चौताराका सर्वे तामाङको घरको जग शिलान्यास गर्दै तत्कालीन प्रधानमन्त्री केपी ओलीले पुनर्निर्माण अभियान घोषणा गरेका थिए ।

जिल्ला आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले जिल्लाको पुनर्निर्माण सकिन लागेको बताए । ‘पुनर्निर्माण तीव्र छ । यही रफ्तारमा काम भए छिट्टै सकिने अपेक्षा गरेका छौँ,’ उनले भने । भूकम्पबाट मुख्य प्रभावित १४ र कम प्रभावित १८ गरी ३२ जिल्लामध्ये सिन्धुपाल्चोकमा सबैभन्दा बढी क्षति पुगेको थियो । तथ्यांक अनुसार १७ हजार भन्दा बढी घर पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ भने थप ६ हजार पुनर्निर्माण सुरु भइसकेको छ ।

जिल्लामा झण्डै साढे दुई हजार घर मात्र पुनर्निर्माण थाल्न बाँकी रहेको देखिएको छ । गुनासो मार्फत लाभग्राही थपिँदै जाँदा यो संख्या बढेर ८७ हजार ८ आठ सय २८ पुगेको छ । लाभग्राहीमध्ये ८५ हजार तीन सय ७० (९९ प्रतिशत) ले पहिलो, ७९ हजार चार सय ३२ (९० प्रतिशत) ले दोस्रो र ६२ हजार ८१ (७० प्रतिशत) ले तेस्रो किस्ता अनुदान लिइसकेका छन् ।
नागरिकबाट

Skip This
Skip This
Logo