काठमाडौं
बिहीबारदेखि सर्वसाधारणका लागि जारी भएको त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडको आईपीओमा दोस्रो दिनसम्म करिब पाँच गुणा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार शुक्रबार ३ बजेसम्म कुल ३६ हजार ३८० जना आवेदकले १ करोड ७४ लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन दिएका छन् । आयोजनाले कुल ३७ लाख ५ हजार कित्ता आईपीओ जारी गरेको हो ।
बिहीबार आवेदन खुला गरिएको यस कम्पनीको आईपीओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० लाख रुपैयाँ बराबरको १० हजार कित्ता सेयर खरिदको आवेदन दिएका थिए ।
प्रधानमन्त्रीको आवेदनले पनि नेपाली जनताले यस कम्पनीको आईपीओलाई बढी विश्वास गरेको विश्लेषकहरूको बुझाइ छ । ‘नेपालको पानी, जनताको लगानी हरेक नेपाली जलविद्युतको सेयरधनी’ नाराका साथ अघि बढाइएका १९ आयोजनामध्ये आईपीओ बिक्री गर्ने यो पहिलो आयोजना हो । कुल ३७ लाख ५ हजार कित्तामध्ये कर्मचारीका लागि १ लाख ११ हजार १५० कित्ता संरक्षण गरी बाँकी ३५ लाख ९३ हजार ८५० कित्ता सर्वसाधारणका लागि खुला गरेको हो ।
प्रतिसेयर अंकित मूल्य १०० रुपैयाँ भए पनि यस कम्पनीको आईपीओ पहिलो चरणमा १० प्रतिशत मात्र लगानी गरेर सेयर खरिद गर्न पाइने व्यवस्था छ । बाँकी रकम भने आयोजनाको ७५ प्रतिशत काम सम्पन्न भएपछि भुक्तानी गर्न सकिनेछ । यो सेयर खरिद गर्न चाहने लगानीकर्ताले छिटोमा ११ चैतसम्ममा आवेदन दिन सक्नेछन् । छिटो अवधिमा तोकिए बमोजिम आवेदन नपरे ढिलोमा ६ वैशाखसम्ममा न्यूनतम १०० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन गर्न सकिने भएपनि पाँच गुणा बढी आवेदन परिसकेकाले छोटो अवधि एवं ११ चैतमा नै आवेदन बन्द हुनेछ । यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट आस्बा सेवाको अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।
राजधानीबाट





























प्रतिक्रिया