प्रधानमन्त्रीलाई लेखे नेकपाकै एक पीडित कार्यकर्ताले खुला पत्र

प्रधानमन्त्रीलाई लेखे नेकपाकै एक पीडित कार्यकर्ताले खुला पत्र

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकै एक कार्यकर्ताले खुला पत्र लेखेका छन् । समाज कल्याण्ड परिषदका कोषाध्यक्ष वीरबहादुर ठगुन्नाले प्रधानमन्त्रीलाई भावुक पत्र लेखेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रीपरिषद् बैठकले समाज कल्याण परिषद्का पदाधिकारीहरुलाई बर्खास्त गरेको थियो । बदनियत र कानुन विपरीत काम गरेको भन्दै सबै पदाधिकारीहरुलाई बर्खास्त गरेको थियो ।

उनले प्रधानमन्त्रीलाई लेखेको पत्र यस्तो छः

सम्माननीय प्र.म. ज्यू,
अभिवादन !
धेरै पहिलेनै लेख्नुपर्ने खुलापत्र आज
सम्म पनि रोक्नुपर्ने एउटामात्र कारण पार्टी अध्यक्ष एवं प्रधानमन्त्री क. केपी ओलीलाई प्रत्यक्ष भेटेर राखुला भनेर सार्वजनिक नगरिकन साचेका कुरा आज सिहदरवारको बारबन्देजका कारणले हाम्रो भेट असफल भएकोले यो पत्र मार्फत आफ्ना गोपनीय पीडाहरु समेत सार्वजनिक गर्न बाध्य भएको छु ।

यो पढेर प्रम ज्युको हृदय परिवर्तन होला अनि मैले विगत ४५ वर्षदेखि सर्वस्व समर्पित गरेर जोगाएको सामाजिक, राजनीतिक जीवनमा सरकारले लगाईदिएको कलंकको टीका मेटिएला अनि भविष्यमा केही होला भन्ने आशाले भन्दा पनि मेरा लाखौ समर्थक, शुभेच्छुक जनता, हजारौं कार्यकर्ता तथा इष्ट मित्र र सयौं अग्रज नेताहरुमा फैलिएको अफवाह र भ्रम निवारणका निम्ति सत्य तथ्य सार्वजनिक गर्ने धृष्टता गरेको छु । यसमा केही गल्ती भए क्षमाप्रार्थी छु ।

मोवाईलको यो सानो स्पेसमा मेरा जीवनका तीतामिठा फेहरिस्त नअटाउने हुनाले संक्षेपमा तपाईंहरूको सुझाव अनुसार क्रमशः पेस गर्ने प्रयास रहनेछ । मैले पेश गरेका हरेक कुरा सत्यतथ्यमा आधारित छन्, सबुत प्रमाणको आधारमा मात्रै यहाँ उल्लेख गरेको र कसैलाई आक्षेप लगाउने नभई आफ्नो सफाईमा मात्र प्रसंगबस नाम उल्लेखनीय भएको ब्यहोरा अनुरोध छ ।

अहिले मेरो सामाजिक राजनीतिक जीवनबारेमा सुन्ने कसैलाई फुर्सदन होला तर अनियमितता र प्रकृया बिपरित कामगरेको जुन आरोप लगाएर सरकारले म लगायत परिषद्को सिङ्गै टिमलाई पदमुक्त गर्य‍ो त्यो कपोलकल्पित निराधार र कानुन विपरीत भएकोले सर्वोच्चमा हाम्रो मुद्दा बिचाराधिन छ, तर त्यो बाहेक प्रम तथा अध्यक्ष ज्यु संगको मेरो थप गुनासोमात्रै यहाँ राख्ने प्रयास गरेको छुः

सम्माननीय प्रम ज्यूः
(१) म नेकपाको साधारण कार्यकर्ता भएको दुई वर्ष नपुग्दै २०३३ चैतमा प्रा.बि.नि (नासु) डडेल्धुराबाट तत्कालीन अंचलाधिशको निर्देशनमा अराष्ट्रियतत्वको आरोपमा गोप्य ढंगले पदमुक्त गर्नु र अहिलेको नेकपाको विगत दशवर्ष देखि केन्द्रीय अनुशाशन आयोगको सदस्यलाई पदमुक्त गर्ने गोप्य शैलीमा एकरुपता किन ? मलाई स्पष्टीकरण सोध्नुभन्दा पुर्वनै राजीनामा किन मागिएन ? पार्टीको आदेशमा माविको स्थायी प्रअ पद समेत राजीनामा गरेकोे होइन र ?

मैले ४५ वर्षको मेरो पार्टीको ईतिहासमा आधिकारिक लाइन र नेतृत्वको पक्षमा अडिग रहँदैं फुट, विभाजन, विकृति विसंगति विरुद्ध लड्दै आएको हुँ । क. मदनको अवशानपछि का मेरो आस्थाको धरोहर कमरेडहरुसँग एक मिनेट भेट्नै नपाइने ? अनि दुष्मनलाई जस्तो घोक्रेठ्याक लगाउनै पर्ने ?

अनि सुनिन्छ तपाईंको नाम लिएर न्यायालय समेत प्रभावित गरिन्छ रे, अख्तियारलाई त सिफारिस नै गरिसक्नु भएको छ रे । अनि तपाईंको यो निर्णयलाई जनताले कतिको जायज ठान्छन् ? तलको फेहरिस्त पढ्नेहरूलाई तपाईंले जवाफ दिनुहुन्छ कि ? नत्र जनताले न्याय माग्न कहाँ जाने ?

(२) हामीलाई लगाइएको प्रमुख आरोपः ईच्छुमति तरकारी बजार प्रकृया नपुर्‍याएर भाडामा लगगाउने निर्णय गरेको भन्ने आरोपमा पदमुक्त गरेको भनेर ठुलो स्वरमा निर्णय सार्वजनिक गर्ने तपाईंको संचार मन्त्री गोकुल बास्कोटा नै सो निर्णयमा प्रकृयाको कुरै नगरिकन ठाडै निर्णय नगरेमा तँलाई देखाई दिने भनेरै धम्की दिने र मैले नियमको कुरा पनि गर्न नपाईने अन्यथा बालकोट आउँन ललकार्ने व्यक्तिलाई सरकारको प्रबक्ता बनाउने कि हामीलाई भन्दा उहालाई कारवाही गर्ने ? (निजसँगको फोन रेकर्डहरु सुरक्षित छन) सो निर्णयमा मेरो सुरुदेखि अहिलेसम्म फरक धारणा रहेको कुरा हरेक नवनियुक्त मन्त्रीलाई लिखित रुपमा पेस गरेका पत्रहरुबाट प्रमाणित हुँदाहुँदैमलाई बलिको बोका किन बनाईयो ?

(३) तत्कालीन प्रम. प्रचण्डको अध्यक्षतामा बसेको २०७३/९/२९ को बोर्ड बैठकले नै उक्त जग्गा किशान व्यवसायीलाई दिने निर्णयलाई नै का.स. को बैठकले लागू गरेको हो भनेर सो निर्णयमा अध्यक्ष एबं मन्त्री आशा कोईरालाको भनाई सहि मानेमा सिंगो बोर्ड र अध्यक्ष प्रचण्डलाई बचाउने र निरीह तल्लो पदाधिकारीको सामाजिक राजनीतिक हत्या गर्नु कत्तिको जायज होला ?

(४) म परिषदमा आएदेखि नै त्यहाँ विद्यमान पुराना समस्याको समाधानका साथै नयाँ योजनाका लागि अहोरात्र खटेर हाम्रो सरकार आउँना साथै लागु गर्न भनेरै अल्पकालीन र दीर्घकालीन गुरुयोजना निर्माण गर्यौ, तर हाम्रो कार्यकालको २१ औं महिनामा ७ औं मन्त्रीको रुपमा आएकी मा. मन्त्री थममाया थापाले १४ औं महिना पुग्दा सम्ममा ईतिहासमै पहिलो पटक नेकपाको टिमले गरेका उल्लेखनीय कार्यहरु समेत नजरअन्दाज गरि सिंगो टिमलाई हटाउने र परिषदको अस्तित्व समाप्त पार्ने बाहेक अरु के काम गरिन ? केपी ओली ज्यू खोइ मूल्यांकन ? जनता जान्न चाहन्छन् प्र.म. ज्यु ।

(५) परिषद्को ईतिहाससमा हाम्रो कार्यकालको आर्थिक प्रतिवेदन सबै भन्दा उत्कृष्ट रहेको भनेर मा. मन्त्री थममाया थापाको अध्यक्षतामा मिति २०७५/९/२० को कार्य समितिको बैठकले गरेको सर्वसम्मत निर्णयानुसार हामीलाई पुरुस्कृत गर्नुको बदलामा पदमुक्त गर्ने अपमानित कार्य कुनै दुष्मनलाई समेत सुहाउँछ र ?

(६) मेरो पार्टीको पुर्णकालिन जीवनको २९ औं वर्षसम्म कहिले कुनै पदको लागि पार्टीमा मरिहत्ते गरेकोे छैन, आफुले पाउने अवसर समेतमा अरुलाई दिए, उदाहरणमात्र २०५१ मा मैले सांसद बनाएका प्रेमसिह धामी बितिसक्नुभए पनि अहिलेका गणेश ठगुन्ना जिउँदा साक्षी छन । आफैले बरु पार्टीको नाममा आफ्नो सर्वस्वसहित समर्पित गरेर आज जोगी हुने अवस्थामा पुगेको छु ।

मेरो पुर्ख्यौली सम्पत्तिमा ८७ रोपनी खेत पाँच ठाउँको घर घडेरी ३६ रोपनीसहित वर्तमानको मुल्यांकनमा करोडौंको सम्पत्ति विगतको पुर्णकालिन कार्यकालमा लगानी गरिएको अवस्थामा पार्टीले दिएको यो पद नै सबैभन्दा ठुलो घाँडो भएको भन्न मिलेन र सम्माननीय प्र.म. ज्यू ? यसरी आफ्नो व्यक्तिगत सम्पत्ति पार्टीको काममा लगाएका म जस्ता अरु तपाईंका कति जना कार्यकर्ता छन् ? अनि हिजो सम्म हवाई चप्पल लगाएर हिड्ने भुई फुट्टाहरु महलमा चिल्ला गाडीको सवार हुनेहरुको पनि पार्टीमा हिसाब राख्नु भएको होला नि ? यिनलाई अब के कारवाही गर्ने तयारी छ ? होइन भने करोडौंको सम्पत्तिका मालिकलाई सडकमा पुर्याएर पनि घोक्रेठ्याक लगाउने र हिजोका हात्ती छापहरु आज महलमा बसि पटक पटक अवसर पाईरहने यो कुन समाजबाद हो ? यो त चोरलाई चौतारी शाधुलाई शुली भएन र ? जनता जान्न चाहान्छन प्र.म. ज्यु ।

(७) गत वर्ष दिल्लीमा उपचार नभएपछि विदेशमा उपचार गर्ने आफ्नो हैसियतले नभ्याएको कारणले विगत दुई वर्ष देखिको oral cancer  पालेर बाचेको छु । यस्तो अवस्थामा आफ्नो हिस्साको बाकी पाँच कठ्ठा १८ धुर मात्रै जग्गा ले केही नहुने भएकोले सरकारले हेर्छ कि भनेर भेट्ने कैयन प्रयत्न गरे तर सचिवालय भन्दामाथि पस्न निषेधित गरिएको छ।

अहिले मलाई कारवाहीको एउटा बुदा भेट्नै नआएको भन्ने पनि छ रे ? आफ्नो स्वास्थ्य, परिषद्को कामको चापको बावजुद कैयौं पटक भेट्ने समय मागे तर प्र.म. ज्युको ब्यस्ता भनेर सचिवालयले समय नदिने अनि यो पनि मेरै दोष कसरी हुन्छ र प्र.म. ज्यु ?

(८) परिषद्मा हाम्रो कार्यकालमा दर्जनौं महत्त्वपूर्ण कामहरू भएका छन् तिनको फेहरिस्त क्रमशः राख्ने छु । उल्लेखित कुरामा मीत्रहरुका सुझावको लागि हार्दिक आग्रह छ। धन्यवाद !

निवेदकः
पीडित सक परिषद कोषाध्यक्ष
वीरबहादुर ठगुन्ना

Skip This
Skip This
Logo