गण्डकी मेडिकल कलेज प्रकरण : ५१ दिनपछि कलेज र अस्पताल सञ्चालनमा

गण्डकी मेडिकल कलेज प्रकरण : ५१ दिनपछि कलेज र अस्पताल सञ्चालनमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

गण्डकी मेडिकल कलेज र हस्पिटल विद्यार्थी आन्दोलनका कारण बन्द भएको ५१ दिन पछि सञ्चालन भएको छ । अस्पताल र कलेज बिहीबारबाट सञ्चालनमा आएको हो ।

यसअघि यही २ चैतमा आन्दोलनरत विद्यार्थीले आफ्ना माग अदालती प्रक्रियाबाट टुंगो लाग्ने भन्दै अस्पतालकोे ओपिडी सहित टिकट काउन्टर गरेर ६ वटा ताला खोलिदिएका थिए । त्यही दिन कलेजमा लगाइएको ताला समेत खोलिएको थियो । त्यसको ५ दिनपछि कलेज र अस्पताल सञ्चालनमा आएको हो ।

कलेज सञ्चालक मध्येका एक हुमनाथ कोइरालाले सञ्चालक विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उत्पन्न जटिल परिस्थिती पछि व्यवस्थापनमा केही जटिलता आएकाले सञ्चालनमा ढिलाई भएको जानकारी दिए । उनले आफूहरु सधै कलेज र अस्पताल सञ्चालन गर्न लागि परेको तर, वातावरण अनुकुल नरहेकाले बन्द हुन पुगेको बताए । अब भने सञ्चालनका लागि जिम्मेवारी तोकेरै काम भएकाले कलेज र अस्पताल सहजरुपमा सञ्चालन हुने उनको अपेक्षा छ ।

एक पक्षीय रुपमा कलेज सञ्चालक विरुद्ध सञ्चार माध्यममा समाचार आएको भन्दै दुखेसो पोखेका उनले विद्यार्थी, सरकार र सबै सरोकारवालाको सहयोग चाहिएको बताए । ‘हामी मेडिकल शिक्षामा योगदान दिन कलेज चलाएका हौं,’ उनले भने, ‘दाबाका साथ भन्छु, अन्य कलेजले भन्दा सस्तोमा हामीले पढाएका छौं, तर विभिन्न ढंगले खेद्ने काम भयो ।’

गण्डकी मेडिकल कलेजका निमित्त प्राचार्य डा प्रकाश बरालका अनुसार बिहीबार सबै विभागमा पढाई सुरु गरिएको छ । यद्यपी सबै विद्यार्थीलाई खबर गर्न नपाइएकाले उपस्थिति न्युन थियो । आइतबारसम्ममा सबै विद्यार्थी पठनपाठनका लागि आउने र पूर्णरुपमा कक्षा सञ्चालन हुने उनले बताए ।
नयाँ पत्रिकाबाट

Logo