काठमाडौँ
दोस्रो जनआन्दोलनपछि बनेका सरकारले जनताले तिरेको अर्बौं रुपैयाँ कर विपन्न नागरिकलाई आर्थिक सहायता बाँड्ने नाममा उडाएका छन् । २०६२ / ६३ को आन्दोलनपछि बनेका १२ वटा सरकारले ३ अर्ब ९५ करोड ५० लाख भन्दा बढी रकम आफ्ना नातेदार, कार्यकर्ता र आसेपासेलाई आर्थिक सहायताको नाममा वितरण गरेका हुन् ।
सशस्त्र द्वन्द्वका पक्षधर तत्कालीन नेकपा माओवादी र सरकारबीच भएको १२ बुँदे सम्झौतापछि बनेका सरकारले जनताले तिरेका करमा रजाइँ गरेको देखिन्छ । सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिबद्धता जनाउने सरकार आफैंले अर्बौं रुपैयाँ बाँडेर राज्यकोषको दोहन मात्रै गरेका छैनन्, दण्डहीनतालाई मलजलसमेत गरेका छन् ।
२०६२/ ६३ को आन्दोलनपछि २०६३ देखि २०६५ सम्म गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारले नेता, कार्यकतादेखि आफन्तलाई विपन्न र गरिबको नाममा करोडौं आर्थिक सहायता बाँड्यो । कोइरालाको तीन वर्षको कार्यकालमा पटकपटक गरेर ८ करोड रुपैयाँ बाँडेको देखिन्छ । आर्थिक वर्ष २०६३/६४ मा ३ करोड रुपैयाँ बाँडेको देखिन्छ भने आर्थिक वर्ष २०६४/६५ मा ५ करोड रुपैयाँ बाँडेको देखिन्छ ।
पहिलो संविधान सभाको निर्वाचनपछि ठूलो दल बनेको नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार बन्यो । तत्कालीन नेकपा माओवादी केन्द्र र नेकपा एमालेको संयुक्त सहभागितामा २०६५ सालमा बनेको सरकारको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुभयो । प्रचण्ड नेतृत्वको सरकारले आर्थिक वर्ष २०६५/६६ मा ६ करोड रुपैयाँ नेता तथा कार्यकर्ताको नाममा बाँडेका थिए । ४ सय भन्दा बढी नेता तथा कार्यकर्तालाई ५० हजारदेखि २ लाख रुपैयाँका दरले राज्यकोषको रकम बाँडेका थिए ।
दोस्रोपटक सरकारको नेतृत्व गरेका प्रचण्डले आर्थिक वर्ष २०७३/७४ को पहिलो तीन महिनामा आर्थिक सहायताको नाममा १ करोड २८ लाख रुपैयाँ दलका कार्यकर्तालाई वितरण गरेका थिए । दसैं नजिकिएकै बेला २ असोज २०७३ मा प्रचण्ड नेतृत्वका सरकारले एकै दिन ४४ जनालाई १ करोड ३ लाख रुपैयाँ वितरण गर्ने निर्णय लिएको थियो । उनले आफ्नो ११ महिने कार्यकालमा १७ करोड रुपैयाँ वितरण गरेको देखिन्छ । प्रचण्डले दुई कार्यकालमा गरेर २३ करोड रुपैयाँ बाँडेका थिए ।
कसले कति बाँडे ?
गिरिजाप्रसाद कोइराला– ८ करोड
पुष्पकमल दाहाल ‘प्रचण्ड’–२३ करोड
माधवकुमार नेपाल– १९ करोड २३ लाख
झलनाथ खनाल– १५ करोड ४३ लाख
डा बाबुराम भट्टराई– ९ करोड ३२ लाख
खिलराज रेग्मी– ११ करोड ७७ लाख
सुशील कोइराला– २ अर्ब ६७ करोड ३२ लाख
केपी शर्मा ओली– ३३ करोड १६ लाख
शेरबहादुर देउवा– ८ करोड
राजधानीबाट





























प्रतिक्रिया