काठमाडौँ
आगामी आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।
हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । सरकारले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजनासहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।
सोही लक्ष्य अनुसार चालू आवमा २८७ मेगावाट बराबरको विद्युत् उत्पादन हुनेछ । तर चालू आवको हालसम्म ३९ मेगावाट विद्युत् मात्रै प्रणालीमा थप भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनका अनुसार चालू आवमा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए, २२ मेगावाट क्षमताको वाग्मती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । ती तीनवटै आयोजनाको परीक्षण उत्पादन हुनेक्रममा पुगेको छ । यसै महीनाको अन्त्य सम्ममा ती आयोजनाले परीक्षण उत्पादन शुरु गर्नेछ ।
यस्तै चालू आवको अन्त्यसम्म २० मेगावाट क्षमताको तल्लो मोदी, छ दशमलव चार मेगावाट क्षमताको माथिल्लो मैलुङ ए, २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, २५ मेगावाट क्षमताको काबेली बि एक पनि निर्माण सम्पन्न हुनेछ ।
यस्तै तीन दशमलव दुई मेगावाटको गेलुन खोला, आठ दशमलव आठ मेगावाटको रुदी ए, ५ मेगावाटको घलेम्दी खोला, तीन दशमलव तीन मेगावाटको कापडीगाड, २३ दशमलव पाँच मेगावाटको सोलु, सात मेगावाटको माथिल्लो खिम्ती दुई, पाँच मेगावाटकै घट्टे खोला, १० मेगावाटको इवा खोला, चार दशमलव पाँच मेगावाटको विजयपुर खोला, सात मेगावाटको माथिल्लो मार्दी र छ दशमलव छ मेगावाटको रुडी खोला चालू आवको अन्त्यसम्मा सम्पन्न हुनेछन् ।
आव २०७६/७७ मा खानी खोला एक ४० मेगावाट, दोर्दी खोला २७ मेगावाट, मिस्ट्री खोला ४२ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव आठ मेगावाट, रसुवागढी १११ मेगावाट, खानी खोला ३० मेगावाट, तल्लो सोलु ८२ मेगावाट, माथिल्लो दोर्दी ए २५ मेगावाट, सिंगटी खोला १६ मेगावाट, अप्पर बलेफी ३६ मेगावाट गरी कूल २३ आयोजना सम्पन्न हुनेछन् । ती आयोजनाबाट ९८२ मेगावाट विद्युत् प्रसारण प्रणालीमा थप हुनेछ ।
सरकारको सहजीकरणका कारण निर्माणाधीन आयोजना धमाधम सम्पन्न हुनेक्रममा रहेको भन्दै मन्त्री पुनले आर्थिक वर्ष २०७७/७८ सम्म थप ४५५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने जानकारी दिनुभयो ।
केही आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने क्रममा रहेको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको समस्याका कारण विद्युत् खेर जाने अवस्थासमेत आउने भएको छ । सोलु करिडोरमा निर्माणाधीन केही आयोजना सम्पन्न हुने चरणमा पुगेको भए पनि प्रसारण लाइन निर्माणमा तोकिए अनुसारको उपलब्धि हुन सकेको छैन ।
रासस





























प्रतिक्रिया