काठमाडौँ । भाषा आयोगको वार्षिकोत्सवका अवसरमा डोट्याली भाषाको साहित्यिक मासिक पत्रिका ‘गुगुल्डि’ लाई सम्मान गरिएको छ । लामो समयदेखि डोट्याली भाषाको साहित्यिक मासिक पत्रिकाका रूपमा ३२३ अङ्क प्रकाशित पत्रिकाले मातृभाषा संरक्षण तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै भाषा आयोगले सम्मान गरेको हो ।
गुगुल्डिका आजीवन सदस्य एवं गोरखापत्र दैनिकको डोट्याली पृष्ठका सम्पादक दीपसागर पन्तले सम्मान–पत्र ग्रहण गरेका हुन् । यो पत्रिका सुदूरपश्चिमको साहित्यिक पत्रकारिताको इतिहासमा विसं २०५४ सालदेखि निरन्तर प्रकाशन हुँदै आएको छ ।
यस पत्रिकाका संस्थापक–सम्पादक वीरबहादुर चन्द ‘विश्राम’ यसअघि प्रेस काउन्सिल पत्रकारिता पुरस्कारबाट पुरस्कृत भइसकेका छन् । प्रेस काउन्सिलद्वारा क्षेत्रिय ‘ख’ वर्गमा वर्गीकृत यस पत्रिकासँग लेखनका माध्यमले हालसम्म ५०० बढी रचनाकारहरू जोडिएका छन् । पत्रिकाको निरन्तरतालाई कायम राख्न तथा साहित्यिक र साँस्कृतिक रूपमा सञ्चालन गर्न गुगुल्डि वाङ्मय प्रतिष्ठान (२०७५) गठन गरिएको छ ।
शुरुवातमा दुई पानाबाट थालनी भएको पत्रिका हाल कूल ५४ पेजमा प्रकाशन भइरहेको छ । एक सयबढी साहित्यिक तथा साहित्यकार विशेष अंक प्रकाशन गरेको गुगुल्डि साहित्यिक मासिक पत्रिकाले सुदूरपश्चिमका मातृभाषा विशेषाङ्क समेत प्रकाशन गरेको छ। त्यसैगरी गुगुल्डि वाङ्मय प्रतिष्ठान संस्था गठनपश्चात् बहुभाषिक लघुकथा विशेषाङ्कका साथै विभिन्न सर्जकहरूका कृतिसमेत प्रकाशन भएका छन् ।
पत्रिका तथा प्रतिष्ठानले बर्षेनि साहित्यिक र साँस्कृतिक प्रतिभाहरूलाई सम्मान गर्दै आएको छ । प्रतिष्ठानले आरडी प्रभास चटौत, वीरबहादुर चन्द ‘विश्राम’, नारायणदत्त भट्ट, कोमलबहादुर सिंह र लक्ष्मीदत्त भट्टलगायतको योगदानमा अक्षयकोष समेत स्थापना गरेको छ ।






























प्रतिक्रिया