सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछुः ऊर्जामन्त्री खड्का

सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्नेछुः ऊर्जामन्त्री खड्का

केन्द्रबिन्दु
30
Shares

खाँदबारी (सङ्खुवासभा) । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको शिर उच्च राख्नेगरी काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेस सङ्खुवासभा जिल्ला कार्यसमितिले आज खाँदबारीमा आयोजना गरेको एक सय ११औँ बिपी जयन्ती तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको सम्मानमा आयोजित कार्यक्रममा उनले सङ्खुवासभाभित्र रहेका स्रोतसाधनको उच्चतम प्रयोगमार्फत शिर उच्च हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।

मन्त्री खड्काले दुई ठूला राजनीतिक दल मिलेर वर्तमान सरकार बनेकाले यो सरकारले जनताको आर्थिक विकास र देशको समृद्धिका क्षेत्रमा काम गर्ने बताए । “देशको आवश्यकताअनुसार संविधान संशोधन गर्नेगरी दुई दल मिलेर सरकार बनेको छ, यो सरकारले नागरिकमैत्री सेवा प्रवाह, भ्रष्टाचारको अन्त्य, सुशासनलगायत क्षेत्रमा काम गर्नेछ”, उनले भने ।

मन्त्री खड्काले नयाँ सरकार गठनपछि मुलुकको आर्थिक, पर्यटकीय गतिविधिमा परिवर्तन आएको बताउँदै अब प्राकृतिक स्रोतसाधनको उचित प्रयोग गरेर देशको विकास गर्ने उल्लेख गरे ।

नेपाली कांग्रेसका नेतासमेत रहेका मन्त्री खड्काले जनतामैत्री सेवा प्रवाहमा केन्द्रित हुन पार्टीबाट निर्वाचित जनप्रतिनिधीलाई आग्रह गरे । “जनताले हाम्रा कामको मूल्याङ्कन गरिरहनुभएको छ, तसर्थ उहाँहरुको सहजता र सुविधाका लागि काम गर्नुहोस्”, उनले भने ।

ऊर्जामन्त्री खड्काले आगामी १० वर्षभित्र २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सरकारले लिएको बताउँदै उक्त लक्ष्यलाई पूरा गर्न सरकार लागेको उल्लेख गरे । उनले सङ्खुवासभामा मात्र झन्डै पाँच हजार मेगावाट विद्युत् उत्पादन गर्ने नदी रहेकाले यसको उच्चतम प्रयोग गर्नुपर्नेमा जोड दिए ।

ऊर्जामन्त्री खड्काले आगामी दुई वर्षभित्र सङ्खुवासभासहित देशभर विद्युतीकरण गरिसक्ने बताए । उनले यहाँको स्रोतसाधन अधिकतम प्रयोग गरिने उल्लेख गरे ।

Logo