काठमाडौं । काठमाडौंको सिनामंगलमा अवस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ नेपालबीच स्वास्थ्य उपचारसम्बन्धी सम्झौता भएको छ । आइतबार एक कार्यक्रमकाबीच उक्त सम्झौता भएको हो ।
केएमसीका प्रबन्धक तथा प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार सम्झौतामा अपाङ्गता भएका बिरामीको उपचारमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । सम्झौता पत्रमा काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सोइना शर्मा र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका सदस्य माधवप्रसाद चौलागाईले हस्ताक्षर गरेका छन् ।
सो अवसरमा केएमसीका सञ्चालक एवं संघीय सांसद डा. सुनिलकुमार शर्माले मुलुकका दुरदराजमा रहेका आर्थिक रुपमा विपन्न र शारीरिक रुपमा पनि अपाङ्ग भएका मानिसहरुलाई सहयोग गर्न पाउँदा आफू निकै हर्षित भएको बताए । अपाङ्गता भएका मानिसलाई सहयोग गर्न पाउनु पुण्यको काम भएको उनको भनाई छ ।
यसैगरी नेपाली चलचित्रकी सुपरस्टार अभिनेत्री एवं नेतृ रेखा थापाले चलचित्र ‘हिम्मतवाली’बाट आफूले अपाङ्ग भएका मानिसका लागि सहयोग गरेको बताइन् ।
उनी भन्छिन्, ‘सुनिल दाईले केएमसी हस्पिटलमार्फत गर्दै आउनुभएको सहयोगका लागि हार्दिक आभारी व्यक्त गर्न चाहन्छु । किनकी जोकोही मानिसले आर्थिक सहयोग गर्दैनन्, मानिसहरु बोल्ने एउटा र कर्म अर्को गर्दछन् । तर सुनिल दाईको सवालमा उहाँले ५० हजार भन्दा बढी मानिसहरुलाई आर्थिक तथा स्वास्थ सेवा सहयोग गर्दै आउनु भएको छ ।’
आफू पनि पछि दुर्गम तथा पिछडिएको मानिसहरुलाई सांसद शर्माले जस्तै सेवा गर्ने योजना बनाएको अभिनेत्री थापाले बताइन् । उनलाई मोरङ क्षेत्र नं ३ को माननिय भन्न पाउँदा आफू निकै हर्षित भएको पनि बताइन् । स्मरणीय रहोस् थापा गत चुनावमा शर्मासँग नै पराजित भएकी हुन् ।
यस्तै, राष्ट्रिय लोकतान्तिक आपाङ्घ संघ नेपालका सदस्य माधवप्रसाद चाम्लागाईले केएमसी हस्पिटलले यसअघि पनि अनौपचारिक रुपमा सहयोग गर्दै आएता पनि अब भने औपचारिक रुपमै सम्झौता हुँदा देशभर छरिएर रहेका अपाङ्ग साथीहरुलाई ठुलो सहयोग पुग्ने बताए । उनले सांसद शर्माको अन्य अस्पतालमा पनि यस्तै सेवा, सुविधा उपलब्ध गराइदिन पनि माग गरे ।





























प्रतिक्रिया