संरक्षणको अभावले कुरुप दासढुङ्गा

संरक्षणको अभावले कुरुप दासढुङ्गा

केन्द्रबिन्दु
0
Shares

जताततै प्लाष्टिक र फोहर, भाँचिएको गेट, मर्मत नभएका संरचना । नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी मृत्यु भएको स्थल चितवनको दासढुङ्गाको अवस्था देखेपछि तनहुँका सूर्य अधिकारी खिन्न भए ।

“दासढुङ्गाको अवस्था देखेपछि निराश भएँ”, काठमाडौँ आउने क्रममा मदन–आश्रितको दुर्घटनास्थल दासढुङ्गामा बसेका उनले भने, “सालिकसमेत संरक्षण हुन नसकेकामा दुःख लाग्यो ।” उनीसँगै आएका जनक अधिकारीले पनि उस्तै महसुस गरे ।

दासढुङ्गामा मदन–आश्रितको सालिक भएको स्थानको उचित संरक्षणमा सरोकारवालाको ध्यान पुग्न सकेको छैन । प्रत्येक वर्ष जेठ ३ गते भव्य कार्यक्रमको आयोजना गर्ने गरिए पनि पार्क र सालिकको समेत संरक्षण हुनसकेको छैन । “हामी सधैँ मदन भण्डारीको चर्चा गर्छौँ । जेठ ३ गते सालिकमा फूलमाला चढाउँछौँ । वर्षभरि सुत्छौँ, अनि फेरि अर्को वर्ष त्यही प्रक्रिया दोहोरिन्छ ।

मदन भण्डारीको सम्झनामा यति मात्र भएको छ”, नेकपाका केन्द्रीय सदस्य देवी ज्ञवालीले भने, “मदन भण्डारीको सम्मान फूलमालाले होइन, कामबाट गर्नुपर्छ ।” जनतासँग जोडेर काम गर्न सकेमात्र मदन–आश्रितप्रति सच्चा श्रद्धाञ्जलि हुने उनले बताए । दासढुङ्गालाई नेपालको राजनीतिको अध्ययन केन्द्र बनाउनुपर्नेमा ज्ञवालीको जोड छ ।

“दासढुङ्गा विश्वमा चर्चामा आएको नाम हो, भरतपुर महानगरपालिका–२९ का वडाध्यक्ष मानबहादुर रानामगरले भने, “देशभर यो ठाउँलाई हेर्ने दृष्टिकोण नै फरक छ ।” संरक्षण नहुँदा दासढुङ्गा कुरूप बन्न थालेको भन्दै उनले चिन्ता व्यक्त गरे ।

“यो सडक भएर यात्रा गर्दा जोकोहीले पनि आहा भन्ने बनाउनुपर्छ”, उनले भने । “म आफैँ वडाध्यक्ष भए पनि केही गर्न सकेको छैन ।” दासढुङ्गामा व्यवस्थित तारजालीको समेत व्यवस्था गर्न नसकिएको उनले बताए ।

कतिपय ट्रक त्यहीँ रोकेर चालकले मदन–आश्रितको सालिक नजिकै गएर खाना पकाएर खाने गरेको उनले बताए । उनले दासढुङ्गामा ऐतिहासिक संरचना निर्माण गरेर सबैलाई आकर्षित गर्नुपर्ने भन्दै सरकारको ध्यान केन्द्रित हुन नसकेको दुखेसो पोखे ।

प्रत्येक हप्ता स्थानीयस्तरबाट दासढुङ्गाको सरसफाइ गर्ने गरिए पनि एक÷दुई दिनमै उस्तै हुने गरेको उनको भनाइ छ ।

प्रदेश नं ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले २५ वर्षसम्म दासढुङ्गामा केही पूर्वाधार निर्माणबाहेकका ठोस काम गर्न नसकिएको स्वीकार गरे । उनले अब गुरुयोजना निर्माण गरेर त्रिशूली र नारायणी नदीसँग जोडेर एकीकृत विकास गर्ने तयारी भइरहेको जानकारी दिए ।

उनले दासढुङ्गामा झोलुङ्गे र पक्की पुल निर्माण गरिएको बताए । पछिल्लो समय प्रदेश र केन्द्र सरकारले एकीकृत विकासका लागि चासो देखाएकाले छिट्टै दासढुङ्गाको मुहार फेरिनेमा उनको विश्वास छ ।

दासढुङ्गा घटनापश्चात पूर्व सांसद स्व जागृतप्रसाद भेटवालको संयोजकत्वमा दासढुङ्गा व्यवस्थापन समिति गठन भएको थियो । समितिले शुरुवातका चरणमा केही काम गरे पनि ठोसरूपमा दीर्घकालीन काम हुनसकेको छैन ।

मदन भण्डारी फाउण्डेशन चितवनका अध्यक्ष डा. तिलचन्द्र भट्टराईले गुरुयोजना निर्माण गरेर दासढुङ्गाको विकास गर्न लागिएको बताए । दासढुङ्गामा मदन–आश्रित पार्क निर्माणका लागि करीब दुई बिघा जग्गा लिइएको छ । सो जग्गामा पार्क र नदीसँग जोडेर एकीकृत विकासका लागि गुरुयोजना निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको २५ वर्ष पुगेको छ । विसं २०५० जेठ ३ गते दासढुङ्गामा भएको जिप दुर्घटनामा मदन–आश्रितको निधन भएको थियो ।

Skip This
Skip This
Logo