एनआईसी एशिया बैंकले सामुदायिक विद्यालयमा बनाएका पुस्तकालयको उद्घाटन

एनआईसी एशिया बैंकले सामुदायिक विद्यालयमा बनाएका पुस्तकालयको उद्घाटन

केन्द्रबिन्दु
9
Shares

काठमाडौँ । एनआईसी एशिया बैंकले देशका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरूमा निर्माण गरेका भवनहरूमध्ये दुई विद्यालयमा पुस्तकालय उद्घाटन गरिएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विद्यालयहरूमा निर्माण गरेका पुस्तकालय उद्घाटन गरिएको हो ।

विद्यार्थीहरूलाई आवश्यक शैक्षिक सामग्रीहरू उपलब्ध गराइ अध्ययन अध्यापनमा सहयोग गर्न र विद्यालयमा उत्कृष्ट शैक्षिक वातावरण निर्माणार्थ सम्बन्धित विद्यालय एवं स्थानीय तहको सक्रिय सहभागितामा बैंकले निर्माण गरेका उक्त पुस्तकालय भवनहरूमा पुस्तकालय उद्घाटन गरिएको छ ।

बैंकद्वारा कोशी प्रदेशको झापा जिल्लास्थित बुद्धशान्ति गाउँपालिका–२ मा अवस्थित आदर्श माध्यमिक विद्यालय र सोही जिल्लाको गौरीगञ्ज गाउँपालिका–३ मा अवस्थित गौरीगञ्ज माध्यमिक विद्यालयलाई हस्तान्तरण गरेका पुस्तकालय भवनमा असोज ४ गते स्थानीय तह, विद्यालय र बैंकका प्रतिनिधिहरूको उपस्थितिमा पुस्तकालय समुद्घाटन गरिएको छ ।

आदर्श माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटन समारोहमा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाँई र गौरीगञ्ज माध्यमिक विद्यालयको पुस्तकालय समुद्घाटनमा गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलबती राजवंशीको उपस्थिति रहेको थियो । दुवै कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख दिवाकर भट्टराई र सम्बन्धित विद्यालयका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

यी पुस्तकालय सञ्चालनमा आएसँगै उक्त विद्यालयका करिब २५०० विद्यार्थी तथा शिक्षक–शिक्षिकाहरू प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । यसअघि बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लास्थित जोशीपुर गाउँपालिका–१ मा अवस्थित मोहन्याल माध्यमिक विद्यालयमा निर्माण गरेको पुस्तकालयको समुद्घाटन भइसकेको छ ।

त्यसैगरी, मधेश प्रदेशको सिराहा जिल्ला स्थित भगवानपुर गाउँपालिका–१ मा अवस्थित बाला सुन्दरी माध्यमिक विद्यालय र पर्सा जिल्लास्थित वीरगञ्ज महानगरपालिका–१४ मा अवस्थित सिद्धार्थ माध्यमिक विद्यालय, गण्डकी प्रदेशको तनहुँ जिल्लास्थित बन्दीपुर गाउँपालिका–१ मा अवस्थित पवित्रा माध्यमिक विद्यालय, लुम्बिनी प्रदेशको रूपन्देही जिल्लास्थित सियारी गाउँपालिका–४ मा अवस्थित पब्लिक सेकेन्डरी स्कुल र बागमती प्रदेशको चितवन जिल्लास्थित राप्ती नगरपालिका–७ मा अवस्थित वीरेन्द्र आदर्श माध्यमिक विद्यालयको पुस्तकालय भवन निर्माण कार्य सम्पन्न गरेर पुस्तकालय स्थापनाका लागि सम्बन्धित विद्यालयहरूलाई हस्तान्तरण गरिसकेको छ ।

बैंकले यी पुस्तकालय भवनहरू निर्माणका लागि भनेर कूल २ करोड ५ लाख ३० हजार बजेट विनियोजन गरेको थियो । यी पुस्तकालय भवनहरू निर्माणपछि उक्त विद्यालयहरूमा अध्ययनरत ११ हजारभन्दा बढी विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् भने विद्यालयमा अत्यावश्यक पुस्तकालय व्यवस्थापन गराइ विद्यार्थीहरूलाई पुस्तक पढ्न र अन्य शैक्षिक सिकाइका सामग्रीहरूमा पहुँच भई उनीहरूको शैक्षिक गुणस्तर बढ्ने एवं व्यक्तित्व विकासमा ठूलो सहयोग पुग्ने बैंकले विश्वास लिएको सहायक प्रमुख कार्यकारी अधिकृत तथा बैंकका प्रमुख सूचना अधिकारी अर्जुनराज खनियाँले बताएका छन् ।

Logo