काठमाडौँ । निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको १९ औँ कृति ‘आगोको बीउ’ निबन्ध सङ्ग्रह लोकार्पण भएको छ ।
आख्यानकार, निबन्धकार, कवि तथा समालोचक कृष्ण धारावासीले प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त कृति लोकार्पण गरेका हुन ।
पुस्तक लोकार्पण गर्दै प्रमुख अतिथिसमेत रहेका धारावासीले आफूलाई सबैभन्दा बढी मनपर्ने विधा नै निबन्ध रहेको र ‘आगोको बीउ’ पढदा आफूलाई एकदमै आनन्द महसुस भएको बताए ।
निबन्धकार नयाँघरेलाई लेखन यात्रामा निरन्तर हिँडन र यस्ता कृति सिर्जना गरिरहन सुझाव दिँदै उनले भने ‘साच्चै नै उहाँको लेखमा जादु छ । समसामयिक विषयलाई जस्ताको त्यस्तै लेख्नुहुन्छ । एकपल्ट सबैले पढ्नैपर्ने निबन्ध आगोको बीउ र नयाँघरेजीलाई बधाई ।’
कृतिमाथि टिप्पणी गर्दै आख्यानकार तथा निबन्धकार अनिता कोइरालाले कृतिको नाम आगोको बीउ भए पनि पुस्तकभरि यो शब्द बिम्वका रूपमा प्रयोग भएको बताइन् । यस्तै कवि, आख्यानकार तथा समालोचक भारती न्यौपानेले नयाँघरेका निबन्धहरूमा विचारको बिस्कुन देख्न सकिने भन्दै निबन्ध पढिसकेपछि सारा संसारमा आगोको बीउ सनसनी फैलिने बताइन् ।
पुस्तकमा भूमिका लेखनसमेत गरेकी निबन्धकार तथा समालोचक कुमारी लामाले आफूलाई यो कृति अत्याधिक मन परेर नै भूमिका लेखेको बताइन् । ‘जीवन र मृत्युको दोसाधबाट अगाडि बढेका तथा अनुभव, अनुभूति र ज्ञानले खारिएका दार्शनिक चेतानायुक्त कुराहरू समेटिएको निबन्ध कृति आगोको बीउ हो’ उनले भनिन् । यस्तै निबन्धकार तथा समालोचक ज्ञानु अधिकारीले ‘आगोको बीउ’ शीर्षकले नै तरंगित पार्ने बताउदै यसले मानवभित्र रहेको संवेदनालाई संयमित बनाउने बताइन् ।
कार्यक्रममा बोल्दै कृतिकार नयाँघरेले आफू निबन्ध र नियात्रा लेखनको क्षेत्रबाट बाहिर जानै नसक्ने बताए । उनले भने ‘निबन्ध मेरा लागि यात्रा गर्दा टेक्ने दह्रो लठ्ठी हो । हिँड्दा आवाज आउँछ त्यो आवाज मेरो नियात्राका बान्की हुन् भने पुग्ने गन्तव्य मेरो निबन्धको आधार हो ।’
२०६५ सालमा आत्मपरक निबन्धसंग्रह ‘एक हातको ताली’मा मदन पुरस्कार पाएका उनका यसअघि ९ वटा नियात्रासंग्रह र १० वटा निबन्धका कृति आएका छन् । ‘आगोको बीउ’ कृतिमा २६ वटा आत्मपरक निबन्धहरू समावेश गरिएको छ ।
निबन्ध लेखेरै आफ्नो भिन्न पहिचान बनाएका नयाँघरेको यो संग्रह रत्न पुस्तक भण्डारले प्रकाशनमा ल्याएको हो । आफूलाई निबन्ध र नियात्रा लेखनमा समानान्तर रूपमा उभ्याउने नयाँघरे नयाँ शैल्पिक लेखन र कथ्य कलामा विशेष छवि बनाएका लेखकका रूपमा परिचित छन् ।





























प्रतिक्रिया