काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले अस्थायी/राहतका शिक्षकलाई विद्यालय बन्द र पठनपाठनमा असर पर्ने गरी आन्दोलन नगर्न आग्रह गरेका छन् ।
अनेरास्ववियुका अध्यक्ष नविना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मंगलबार विज्ञप्ति जारी गर्दै शिक्षकलाई आफ्नो व्यक्तिगत स्वार्थका लागि लाखौँ विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने गरी विद्यालय बन्द गर्ने, पठनपाठनमा असर पर्ने प्रकारको आन्दोलन नगर्न आग्रह गर्नुभएको हो । विज्ञप्तिमा राहत शिक्षकको स्वतः स्थायीको माग शिक्षा क्षेत्रको लागि घातक रहेको भन्दै स्वतः स्थायी गर्न अहिले शिक्षकले गरिरहेको आन्दोलन दुःखद भएको समेत बताउनुभएको छ । विज्ञप्तिमा भनिएको छ, ‘‘शिक्षा जस्तो संवेदनशील क्षेत्रमा पटकपटक स्वतः स्थायीको माग गरेर आन्दोलन गरिनु जति दुःखद अरु हुन सक्दैन ।’’
शिक्षकलाई पनि शिक्षालाई जागिर खाने थलोको रुपमा मात्रै नबुझी शिक्षकको पेशागत मर्यादा, महत्वलाई आत्मसाथ गर्दै स्वतः स्थायीको मागबाट पछि हट्न र खुल्ला प्रतिस्पर्धालाई सहर्ष स्वीकारेर अगाडि बढ्न समेत विज्ञप्तिमार्फत अनुरोध गरिएको छ ।
‘‘सार्वजनिक शिक्षाको शिर उठाउने दायित्व पाउनुभएका शिक्षकले खुल्ला प्रतिस्पर्धामा जान डराउनु जस्तो लाजमर्दो अरु के हुन सक्छ र ?’’ विज्ञप्तिमा भनिएको छ, ‘‘आन्तरिक दरबन्दीमा प्रतिस्पर्धा गराउदा पनि अस्थायी/राहत माग भएको कोटा बमोजिमका शिक्षकसमेत उत्तीर्ण नहुनुले शिक्षा ऐनको नवौँ संशोधनको प्रावधान गलत रहेको छ । ”
रासस































प्रतिक्रिया