काठमाडौं ।
नेपालमा डान्सिङ रियालिटी शो ‘डान्स मास्टर लिल चाम्स’ सुरु हुने भएको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै यस रियालिटी शोको औपचारिक घोषणा गरिएको हो ।
‘थ्रि प्रोडक्सन’ले ‘नेपा प्रोडक्सन’ सँगको सहकार्यमा निर्माण गर्न लागेको यस रियालिटी शोलाई विशाल भण्डारीले निर्देशन गर्नेछन् । जो सफल रियालिटी शो ‘कमेडी च्याम्पियन’का निर्देशक समेत हुन् । यस शोमा केकी अधिकारी, रिमा विश्वकर्मा, विशाल भण्डारी, रोहिया महर्जन, रीना महर्जन, गम्भिरमान सिंह लगायत निर्माताको रुपमा रहेका छन् ।
१३ वर्षभन्दा कम उमेरका बालबालिकाले मात्र सहभागिता जनाउन पाउने यस शो को सुपर जजमा अभिनेत्री सारंगा श्रेष्ठ रहेनछिन् । जजको रुपमा भने ‘डान्स इन्डिया डान्स–लिल चाम्स’की विजेता तेरिया मगर, डान्स प्लस सिजन–२ का प्रतियोगी सुशान्त खत्री र बुगी विगी, नेपाल आइडल, द भ्वाइस अफ नेपाल जस्ता रियालिटी शोमा करियोग्राफी गरिसकेकी रोहिया महर्जन रहनेछन् ।
शो को होस्ट, रिमा विश्वकर्मा र कमेडी च्याम्पियनबाट चर्चामा आएका सुमन कोइरालाले गर्नेछन् । निर्देशक भण्डारीका अनुसार राम्रो नृत्य गर्न सक्ने बालबालिकाहरूका लागि सुनौलो अवसर दिने सोचले शो सुरु गर्न लागिएको र यो शोले अर्को एउटा प्रतिभावान तेरियाको जन्म दिनेछ ।
निर्माता केकी अधिकारी पहिलो रियालिटी शोबाट पाएको सफलता र हौसलाले नै दोस्रो अर्गानिक रियालिटी शो सुरु गर्ने हिम्मत जुटेको बताउँछिन् । भन्छिन्, ‘पहिलो रियालिटी शो कमेडी च्याम्पियनबाट हामीले जुन साथ र सफलता पाएका छौँ, यस शोबाट पनि उत्तिकै साथ र सहयोग पाउनेमा हामी विश्वस्त छौँ ।’
‘डान्स मास्टर लिल चाम्स’ ‘कमेडी च्याम्पियन सिजन २’ समाप्त भएको दुई महिनापछि सुरु हुनेछ । यस शोको लागि पहिलो चरणको अडिसन डिजिटल रुपमा लिइने निर्देशक भण्डारीले जानकारी दिए ।
रियालिटी शोमा विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो र तेस्रो हुनेले क्रमशः १५ लाख र १० लाख नगद पुरस्कार हात पार्नेछन् । निर्देशक भण्डारीका अनुसार विजेताले पाउने पुरस्कार आफ्नो करियोग्राफरसँग ५० प्रतिशात साझेदारी गर्नुपर्नेछ ।





























प्रतिक्रिया