अन्तिम श्रद्धाञ्जलीका लागि शवहरु टुँडिखेलमा ल्याइयो

अन्तिम श्रद्धाञ्जलीका लागि शवहरु टुँडिखेलमा ल्याइयो

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिएको छ ।

मन्त्री अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्या देवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सरकारका मन्त्रीहरु, उच्च प्रशासकीय अधिकृतहरु, प्रतिपक्षी दलका नेताहरु, नेकपाका शीर्ष नेता तथा कार्यकर्ता लगायत अन्य सर्वसाधारण तथा विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो । मन्त्री अधिकारीको पार्थिव शरीरलाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली दिएका छन् ।

ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाकै शवको पोस्टमार्टम राती अबेर सकिएको थियो । त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका फरेन्सि मेडिसिन विभागका निमित्त विभागिय प्रमुख डा रिजेन श्रेष्ठका अनुसार बिहीबार राति सवा १ बजे सातैवटा शवको पहिचान भएको हो । हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएकाको शव चिन्न कठिन भएपछि ‘एन्टिमार्टम रिपोर्ट’ संकलन गरिएको थियो । जलेर शव चिन्न नसक्ने भएपछि फरेन्सिक विभाग महाराजगन्जले मृतक व्यक्तिहरूको तत्कालीन अवस्थाको विवरण (एन्टिमार्टम रिपोर्ट) संकलन गरेको हो । फरेन्सिक मेडिसिन विभागका प्राध्यापक डा हरिहर वस्तीले मृतकको अवस्थाको विवरण संकलन कार्य बिहीबार राति मात्रै सकिएको  जानकारी दिए ।

पोस्टमार्टम सकिएकाले शुक्रबार (आज) परिवारलाई शव बुझाउने तयारी गरिएको डा श्रेष्ठले जानकारी दिए । बिहीबार दिउँसो शवको पोस्टमार्टम नसकिँदा टुँडिखेलमा हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम स्थगित भएको थियो । हिजो तीन बजेपछि हुने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहान आठ बजेका लागि सारिएको थियो । श्रद्धाञ्जली कार्यक्रम सकिएपछि मन्त्री अधिकारीको शव उनकै गृहजिल्ला कास्की लगिनेछ । अन्य शवहरु परिवारलाई जिम्मा लगाइएपछि परिवारकै इच्छा अनुसार संस्कार गरिने बताइएको छ ।

Skip This
Skip This
Logo