काठमाडौँ
कमिसन वृद्धिका लागि दबाब दिन ग्याँस उद्योगीले घोषणा गरेको हडतालमा पेट्रोलियम क्षेत्रका सबै व्यवसायीले ऐक्यबद्धता जनाएका छन् । यससँगै बजारमा ग्यास अभाव हुन थालेको छ । उद्योगीले ८ फागुनमा पत्रकार सम्मेलन गरी कमिसन नबढाए ग्यास बिक्री ठप्प पार्ने घोषणा गरेका थिए ।
सरकारले ग्यासलाई अत्यावश्यक वस्तुमा सूचीकृत गरी हडताल गर्न नपाइने कानुनी व्यवस्था गरेको छ । ऐनले यी वस्तुमा हडताल गर्नेलाई ६ महिनासम्म जेल वा २ सय रुपैयाँ जरिवाना वा दुवै सजायको व्यवस्था गरेको छ । तर उद्योगीले अभाव सिर्जना गरेरै भए पनि कमिसन बढाउन खोज्दा सरकार भने कारबाहीको सट्टा वार्ता गर्न खोजिरहेको छ ।
उद्योगीले १७ फागुनबाट हडतालका कार्यक्रम सुरु गर्ने र ३० गतेदेखि देशभर ग्यास बिक्री ठप्प पार्ने धम्की दिएका छन् । ६ वर्षदेखि आफूहरूको माग सुनुवाइ नभएकाले हडताल घोषणा गर्न बाध्य भएको ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले बताए । ग्यास उद्योगी र आयल निगमबीच बुधबार छलफल भयो । ‘बुधबार प्रारम्भिक छलफल भयो, त्यो छलफल हेर्दा सरकारी निकाय हाम्रो माग सुनुवाइ गर्न गम्भीर छन् भन्ने लागेन,’ भण्डारीले भने । निगमसँगको छलफलपछि उद्योग संघले बुधबारनै केन्द्रीय बैठक गरेको छ । माग पूरा गराउन अझ सशक्त भएर प्रस्तुत हुने निर्णय गरिएको भण्डारीले बताए ।
नयाँ पत्रिकाबाट































प्रतिक्रिया