काठमाडौँ
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तीन शीर्ष नेताहरुवीचको अविश्वासका कारण संगठनात्मक एकीकरण गर्न चार वटा कार्यदल बनिसक्दा पनि त्यसले पूर्णता पाउन सकेको छैन । नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल र माधव नेपालवीच समन्वय अभाव र अविश्वासका कारण केन्द्रमा पार्टी एकिकरण भएको दश महिना भएपनि तल्लो तहमा भने एकिकरणको कुनै संरचान तयार गर्न नसकेको हो ।
पटक पटक गठन भएका कार्यदलले पनि पार्टी एकीकरणको खाका बनाउन नसक्दा नेकपाको एकता प्रक्रिया नै अलमलमा परेको छ । प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको डावोसमा रहेकै बेला ललितपुरको झम्सिखेलमा माघ १० गते पार्टीका अर्का अध्यक्ष दाहालसहित नेकपा सचिवालयका बहुमत सदस्यको गोप्य बैठक बसेको थियो । सो बैठकमा माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको सहभागीता भएपछि अध्यक्ष ओली र दाहाल नेपालसँग झस्किएका थिए । नेपाल आएपछि उनले सो बैठकबारे दाहालसँग सामान्य छलफल समेत गरे । तर दाहालले पार्टीको विषयमा नभई सामान्य छलफल भएको कुरा राखेपनि ओलीले त्यसलाई सहजै पत्याइहाल्न सकेनन् ।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरुको गुटगत स्वार्थका कारण आन्तरिक कलह तीव्र बनेको छ । सभापति शेरबहादुर देउवाले पार्टीका विभाग र समिति गठन प्रक्रिया सुरु गरेसँगै कांग्रेसभित्रको विवाद फेरि बाहिर आएको हो ।
पार्टीका समिति र विभागीय प्रमुखहरु आफू अनुकूल बनाउन सभापति देउवाका साथै असन्तुष्ट पक्षका रामचन्द्र पौडेलसहितका नेता सक्रिय हुँदा मंगलबारको केन्द्रीय समिति बैठक प्रभावित भयो । आइतबार मात्र पार्टी विधान बहुमतबाट पारित गराएका सभापति देउवाले मंगलबार अनुशासन र नियमावली मस्यौदा समिति गठनका लागि बिहान ११ बजे केन्द्रीय समिति बैठक बोलाएका थिए ।
पूर्वतयारी अनुसार सभापति देउवा केन्द्रीय सदस्य भीष्मराज आङ्दम्बेको संयोजकत्वमा अनुशासन समिति गठन तयारीमा थिए । तर बैठक सुरु हुनु पहिला नै नेता पौडेल, कृष्णप्रसाद सिटौलासहितले अनुशासन समिति सहमतिबाट गठन गर्न सभापति देउवालाई आग्रह गर्नुका साथै बहुमतबाट निर्णय लिए बैठक बहिष्कार गर्ने चेतावनी दिए ।
असन्तुष्ट पक्षले अनुशासन समिति पार्टीको न्याय निरुपण गर्ने निकाय भएकाले सबैलाई मान्य हुने व्यक्तिलाई समितिको संयोजक बनाउनुपर्ने भन्दै आङ्दम्बेको नाम अस्वीकार गरेका थिए ।
नागरिकबाट





























प्रतिक्रिया