आगामी आर्थिक वर्षदेखि कृषिमा एक खर्बका १४ कार्यक्रम लागू गरिने

आगामी आर्थिक वर्षदेखि कृषिमा एक खर्बका १४ कार्यक्रम लागू गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

सरकारले प्रमुख कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षदेखि १४ वटा कार्यक्रम लागू गर्ने भएको छ । यी कार्यक्रम मार्फत रोजगारी सिर्जना र व्यापार घाटामा न्यूनीकरण गर्ने उद्देश्य छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७६ देखि २०८० सम्मसम्म लागू गर्ने गरी ९७ अर्ब ७५ करोड रुपैयाँ लागतमा १४ वटा आयोेजना सञ्चालनमा ल्याउन लागेको हो । प्रधानमन्त्री कार्यालयमा आइतबार प्रधानमन्त्री केपी ओली समक्ष कृषि मन्त्रालयले प्रस्तुतीकरण गर्दै आयोजना सार्वजनिक गरेको हो ।

१४ वटै आयोजना पारदर्शी रूपमा सञ्चालन भए ३३ हजार ६ सय ६० जनाले स्थायी र २५ हजारले आंशिक रोजगारी पाउनेछन् । यस्तै यो कार्यक्रमले एक हजार सात सय ५३ वटा उत्पादनमूलक नयाँ व्यावसायिक फार्म निर्माण भएर सञ्चालनमा आउनेछन् । यसैगरी बर्सेनि दुई अर्ब १५ करोड आयआर्जन गर्ने बाटो खुल्नुका साथै एक करोड ३२ लाख मेट्रिक टन मासु उत्पादन हुनेछ ।

कृषिमन्त्री चक्रपाणि खनालले कृषि तथा पशुपन्छी क्षेत्रको प्रमुख आयात विस्थापन गरी आयोजनाको अन्तिम वर्षमा ती वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाइनेछ दाबी गरे । ‘जुन वस्तुको आयात अत्यधिक छ त्यसको उत्पादन बढाउने उद्देश्यले हामी केही नयाँ कार्यक्रम ल्याउन लागेका छौं’, मन्त्री खनालले भने, ‘यस्ता कार्यक्रमको तत्कालै नभए पनि केही वर्षमा राम्रै प्रतिफल देखापर्छ ।’

मन्त्रालयले कृषि क्षेत्रको रूपान्तरण गर्न १४ प्रकारका कार्यक्रमको खाकालाई अन्तिम रूप दिएको छ । यसबाहेक केही साना कार्यक्रमको पनि खाका तयार पारिएको छ । मन्त्रालयका अनुसार ७७ जिल्लामा कार्यान्वयन हुने गरी पाँच अर्बको लागतमा युवा रोजगार विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।
अन्नपूर्ण पोस्टबाट

Logo