मधेशी समुदायले दुबईमा सामुहिक रूपमा मनाए दशैँ

मधेशी समुदायले दुबईमा सामुहिक रूपमा मनाए दशैँ

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । विदेशमा बस्ने मधेशीहरूको साझा संगठन मधेशी एकता समाजले संयुक्त अरब इमिरेट्सको दुबईमा विजयादशमी मनाएको छ ।

दुबईमा बसोबास गर्ने मधेशीहरू जम्मा भएर विजयादशमी बनाएका हुन् । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले उपस्थित सबैलाई धन्यवाद दिँदै विदेशमा मधेशी समुदायलाई एकताबद्ध गर्न मधेशी एकता समाजले गरेका प्रयासहरूको प्रशंसा गरे ।

एकता समाजका मुख्य संस्थापक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक डा रवीन्द्रकुमार यादवले मध्यपूर्व, जापान, अमेरिका, नेपाल र अन्य क्षेत्रमा संगठनको विस्तारबारे जानकारी दिए ।

विदेशमा मधेशी श्रमिकहरूको कल्याणलाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै डा यादवले मधेशी समुदायको सेवा गर्न संगठनको प्रभाव र पहुँचलाई बढाइने धारणा राखे । जनकपुर प्रादेशिक अस्पतालमा कार्यरत डा कृष्ण यादवले नेपालमा मधेशी एकता समाजको विस्तारमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । दुबईमा कार्यरत मधेशी मूलकी नर्स सुश्री नयनाले एकता समाजको हिस्सा बनेकोमा खुसी व्यक्त गर्दै संगठनले दुबईमा मधेशी श्रमिकहरूको सहयोगमा गरेको कामको प्रशंसा गरिन् ।

समाजका वर्तमान अध्यक्ष धर्मेन्द्र गोहिबारले आफ्नो संस्कृति र परम्पराको उत्सव मनाउँदा ती महत्त्वपूर्ण चाडपर्वहरूले एक सूत्रमा बाँध्न सहयोग पुग्ने बताए । एकता समाजका महासचिव रोशन मार्क्सिस्टले सञ्चालन गरेको कार्यक्रममा नेपाली दूतावास अबुधाबीका तृतीय सचिवद्वय विमलेशकुमार मिश्र, विकास भट्टराई र अनुवादक रजी अहमदलगायतका व्यक्तित्वहरू सहभागी थिए ।

कार्यक्रममा उपस्थित सबैले मीठो परिकार खाँदै आनन्द लिए भने एकआपसमा शुभकामना साटासाट पनि गरे । त्यस अवसरमा नयाँ वर्षको कार्यक्रम आउँदो जनवरी ५ मा आयोजना गर्ने घोषणा गरिएको थियो ।

Logo