निर्मला हत्याकाण्डदेखि फेक इन्काउन्टरसम्म

निर्मला हत्याकाण्डदेखि फेक इन्काउन्टरसम्म

केन्द्रबिन्दु
0
Shares

(रामजी बलामी)

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक बर्ष नाघेको छ । यतिबेला ओलीको एक बर्षे कार्यकालको समिक्षा भईरहेको छ । त्यसो त प्रधानमन्त्री ओलीले आफ्नो बार्षिक कार्यप्रगति पनि सार्वजनिक गरिसकेका छन् । प्रधानमन्त्रीले चालु बर्ष कानून निर्माण तथा उद्घाटनको बर्ष हुने र अर्काे बर्षदेखि विकास निर्माणको बर्ष शुरु हुने बताउँदै आएका छन् ।

यसका साथै प्रधानमन्त्री ओलीले मुलुकमा शान्ती सुव्यवस्था कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको पनि बताउँदै आएका छन् । तर, विगत एक बर्षमा ओलीको प्राथमिकता विपरित मुलुकमा शान्ती सुव्यवस्था खलबल्याउने थुप्रै घटनाहरु भए जसले सरकारको साँख गिराउन महत्वपूर्ण भूमिका निभायो । प्रहरीको तथ्यांक नियाल्ने हो भने पनि आर्थिक बर्ष २०७३/७४ मा भन्दा २०७४/७५ मा अपराधको रेखा ह्वात्तै बढेको देखिन्छ । गत बर्ष भन्दा चालु बर्ष २४ दशमलव ९६ प्रतिशतले बढी अपराधिक घटना भएको प्रहरीको तथ्यांकले देखाउँछ ।

सनम शाक्य हत्या र ३३ किलो सुन काण्ड

यो बर्षभरी नै चर्चामा रह्यो सनम शाक्य हत्या र ३३ किलो सुनकाण्ड । चुडामणी उप्रेती (गोरे) समुहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएको सुन हराएपछि मोरङका सनम शाक्यको हत्या भएको थियो । घटनाको छानविन गर्न तत्कालिन डिआइजी पुष्कल रेग्मी र गृह मन्त्रालयका सह सचिव ईश्वरराज पौडेलको नेतृत्वमा उच्चस्तरीय समिति बनाइयो । अनुसन्धानमा क्रममा एकपछि अर्काे गर्दै उच्च पदस्थ प्रहरी नेतृत्व, राजनीतिकर्मी र व्यापारी मुछिन थाले ।

उच्च पदस्थ व्यक्तिहरु धमाधम पक्राउ पर्न थालेपछि सरकारको वाहवाही हुन थाल्यो तर समितिले प्रधानमन्त्रीलाई बुझाएको छानविन प्रतिवेदनमाथि प्रधानमन्त्रीले कुनै एक्सन नलिएको भन्दै चौतर्फी आलोचना भयो । समितिले गत साउन १६ गते ७५२ पृष्ठको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो । पक्राउ परेका व्यक्तिहरु धमाधम रिहा हुनु र गायव सुन अझै फेला नपर्नाले सरकारको आलोचना भईरहेको छ ।

निर्मला हत्याकाण्ड

निर्मला पन्त हत्याकाण्डले प्रधानमन्त्री ओलीलाई आच्छु आच्छु नै पारेको छ । घटना भएको ७ महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । अपराधी पत्ता नलाग्नु एकातिर छदैछ तर घटना तोडमोड हुनुले सरकारलाई थप आलोचित बनाएको छ ।

गत साउन १० गते साथी रोशनी बमको घरमा गएकी बालिका पन्तको शव भोलिपल्ट उखुबारीमा भेटिएको थियो । प्रहरीले अपराधी भन्दै स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गर्याे । तर, स्थानीयले बिष्टलाई फसाएको भन्दै आन्दोलन चर्काए । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर १४ वर्षीय सन्नी खुनाको मृत्यु भयो भने दर्जर्नौ घाइते भए । घाइतेहरु अझै उपचार गराइरहेका छन् । अन्ततः निर्मलाको ‘भेजिनल स्वाब’ मा भएको विर्यसँग विष्टको डिएनए पनि मेल खाएन र पछि उनलाई रिहा गरियो । घटनाको अनुसन्धानमा लापरबाही भएको भन्दै अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरु नै बर्खास्तमा परे । केही प्रहरी अझै निलम्बनमा छन् ।

हत्याको अनुसन्धान गर्न सिआइबीका तत्कालीन एसएसपी ठाकुर ज्ञवालीको नेतृत्वमा समिति गठन भयो । त्यस्तै कञ्चनपुरकै स्थानीय प्रहरी, एसपी दुर्गा सिंह नेतृत्वको प्रहरी टोली, विशेष ब्युरोबाट खटिएका प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेका छन् । प्रहरीले अनुसन्धानकै क्रममा तत्कालिन एसपी दिल्लीराज विष्ट, स्थानीय प्रदीप रावल, बिशाल चौधरीलगायत झण्डै ५०  जनाको डिएनए टेष्ट गरिसकेको छ । तर, कसैको पनि डिएनए म्याच गरेन । त्यसो त राष्ट्रिय मानव अधिकार आयोगले निर्मला पन्तको भेजाइनल स्वाबमा भएको डिएनएमाथि नै प्रश्न गर्दै आएको छ ।

यस विषयमा गृहमन्त्री रामबहादुर थापा बादल र रक्षामन्त्री ईश्वर पोखरेलले समेत गलत अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री स्वयंले अपराधी पत्ता लाग्न १२ बर्ष लाग्न सक्ने भन्दै अभिव्यक्ति दिएका थिए । यद्यपी बिहिवार मात्रै गृहमन्त्री बादलले निर्मला हत्याकाण्डको अनुसन्धान भईरहेको भन्दै समयमै अपराधी पत्ता लगाउन नसकेको स्विकारेका छन् । घटनाको छानबिन गर्न गठित उच्चस्तरीय समितिले प्रतिवेदन बुझाइकेको छ । तर, अपराधी अझै पत्ता लाग्न सकेको छैन ।

निरु पाल काण्ड

सांसद निरु पालको पेस्तोल काण्डले पनि निकै तहल्का मच्चायो । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद पालले गत साउन १५ गते राति बानेश्वरस्थित निवासबाट दूध किन्न निस्केका बेला अज्ञात व्यक्तिले पेस्तोल देखाएर मोबाइल लुटेको भन्दै संसदमै धारणा राखेकी थिइन् । संसद भवन भएकै क्षेत्रमा सांसदमाथि नै यति ठूलो घटना भएको भन्दै सरकारको आलोचना भयो । प्रहरीले एसपी रामदत्त जोशीको संयोजकत्वमा छानविन टोली गठन गर्याे । टोलीले निकै गम्भिरताका साथ अनुसन्धान गरेको थियो । तर, कुनै निश्कर्ष बाहिर आएन । पछि यो घटना बनावटी भएको भन्दै आलोचना पनि भयो ।

फेक इन्काउन्टर

गत साउन २० गते काठमाडौंको काँडाघारीमा ११ बर्षिय निशान खड्काको अपहरणपछि हत्या भयो । प्रहरीले घटनामा संलग्न गोपाल र अजय तामाङको इन्काउन्टरमा मृत्यु भएको भन्दै जानकारी दियो । तर, स्थानीय र परिवारले भने यो ‘फेक इन्काउन्टर’ भएको भन्दै विरोध जनायोे । प्रहरीले भक्तपुरको नगदेश्वरस्थित श्याम लवटको घरबाट उनीहरुलाई कुटपिट गर्दै राती १० बजेतिर जिपमा हालेर लगेको स्थानीयको भनाई छ । प्रहरीले ‘फेक इन्काउन्टर’को नाटक रचेको भन्दै सडकदेखि संसदमा समेत आवाज उठ्यो । दोषिलाई कानून अनुसार कारवाही गर्नुको सट्टा इन्काउन्टरको नाममा हत्या गरेको भन्दै सरकारको चर्काे आलोचना भयो ।

पूर्वराजदूत हत्याकाण्ड

निर्मला हत्याकाण्डपछि सरकारलाई घाँडो बनेको घटना हो पूर्व राजदूत केशवराज झाको हत्याकाण्ड । पूर्व राजदूत झाको बबरमहलस्थित आफ्नै निवासमा हत्या भएको थियो । ८० बर्षिय झाको गत भदौ ३ गते चक्कु प्रहारबाट हत्या भएको थियो । घटना भएको दिन झा सुतेको कोठाको झ्याल बन्द थियो भने ढोका खुल्ला अवस्थामा थियो । प्रहरीले झाको हत्यामा उनकै भान्छाकोठाको चक्कु प्रयोग भएको जनाएको छ । प्रहरीले अनुसन्धानका लागि पाले सानुकान्छा तामाङ, माली आइतसिंह तामाङ र भान्छे जयबहादुर तामाङलाई पक्राउ गरेको थियो । तर, उनीहरु निर्दाेष देखिएपछि रिहा भएका थिए ।

घटना भएको ६ महिना बितिसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन सकेको छैन । यो घटनालाई प्रहरीले प्रोफेशनल हत्या भएको बताएको छ । अनुसन्धानका क्रममा प्रहरीले करिव ४ सय जनाभन्दा बढीसँग सोधपुछ गरीसकेको जनाएको छ तर कुनै तथ्य फेला पार्न सकेको छैन ।

खुर्सिद हत्याकाण्ड

पूर्वराजदूत हत्याकाण्ड भएकै भोलिपल्ट सुनसरीको भुटाहमा अर्काे हत्याकाण्ड भयो । गत भदौ ४ गते मुस्लिम अगुवा खुर्सिद आलमको हत्या भयो । विद्यालयबाट बजार गईरहेका बेला उनलाई दुईवटा मोटरसाइकलमा आएका चार जना भारतीयले गोली हानेर हत्या गरेका थिए । उनलाई दाहिने खुट्टा र कन्चटमा गोली लागेको थियो । गोली हानी भागीरहेका हत्यारालाई रोक्न खोज्दा प्रहरी जवान शिव पौडेललाई समेत गोली प्रहार भएको थियो ।

घटनापछि स्थानीयले आन्दोलन चर्काए । लगतै सरकारले पीडित परिवारलाई १० लाख रुपैंया दिने र सहिद घोषणा गर्ने निर्णय भयो । छानबिनका लागि गठित एसएसपी किशोर कुमार दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ । तर, घटना भएको ६ महिना बितिसक्दा पनि अपराधी पत्ता लाग्न सकेको छैन । जसले गर्दा सरकारको आलोचना भईरहेको छ ।

राजा बाबु हत्याकाण्ड

कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार बनेका दीपेन्द्रकुमार चौधरी (राजा बाबु) को हत्या भयो । चौधरीमाथि ५ राउण्ड गोली प्रहार भएको थियो । गत मंसिर ७ गते भएको यो हत्याकाण्डले पनि सरकारलाई आलोचित बनायो ।

Skip This
Skip This
Logo