(रामजी बलामी)
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको निशानामा परेका दुई पक्ष हुन् प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र बुद्धिजीवी । प्रधानमन्त्री ओलीले बार्षिक उपलब्धी सार्वजनिक गर्न हालै देशवासीका नाममा गरिएको सम्बोधनमा पनि प्रतिपक्षीका नाममा चोतिलो व्यंग्यवाण समावेश गर्न भ्याए । देशकै अभिभावकको सम्बोधनमा जुन गम्भिरता र गहिराई हुनुपर्ने हो त्यसो हुन सकेन । प्रधानमन्त्रीको सम्बोधन हेर्दा चतुर नेताको चलाखीपूर्ण चुनावी भाषण जस्तो देखियो ।
सत्तापक्षी र प्रतिपक्षी दल एकअर्काको तारो बन्नु स्वभाविक नै मान्न सकिएला तर प्रधानमन्त्री ओलीले बुद्धिजीवीप्रति पटकपटक प्रहार गर्नुलाई भने रहस्यात्मकरुपमा हेरिएको छ । प्रधानमन्त्री ओलीले अहिले मात्रै होईन पहिलो पटक प्रधानमन्त्री हुँदा पनि बुद्धिजीवीहरुमाथि नियमित जसो तीर हान्दै आएका थिए ।
१. इन्भर्टेड कमावाला बुद्धिजीवी
मिति २०७३ जेठ ६ गते । काठमाडौंमा आयोजित तत्कालिन प्रेस चौतारी नेपालको महाधिवेशन उद्धघाटन गर्दै प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुलाई इन्भर्टेड कमावाला बुद्धिजिवी भनेर बिल्ला भिराए । उनले आप्mनो कुराले इन्भर्टेड कमावाला बुद्धिजिवीहरुलाई ‘हात्तीले जोर लाती हाने’ जस्तो भएको भन्दै अभिव्यक्ति दिएका थिए ।
२. ‘फर सी’ बुद्धिजिवी
प्रधानमन्त्री ओलीले २०७३ चैत्र ९ गते बुद्धिजीवीहरुविरुद्ध पुनः अर्काे चोतिलो प्रहार गरे । कार्यक्रममा बुदिजीवीहरु विरुद्ध ओलीले धेरै समय खर्चे । तत्कालिन नेकपा एमालेले सञ्चालन गरेको मेची महाकाली अभियानका क्रममा मलेठ घटना भएको थियो । यस विषयमा तत्कालिन एमालेले मधेसलाई उत्तेजित बनाएको भन्दै टिप्पणी भयो । यो टिप्पणीविरुद्ध अभिव्यक्ति दिँदै प्रधानमन्त्री ओलीले भने, “केही सो कल्ड बुद्धिजीवीहरु, अरुले खुवाइदिएको ट्याब्लेटले बोलेका कुरा हुन, तिनीहरु भन्ने गर्छन नजाउ भनेपछि किन जाने ?” ओलीको बोली यतिमै रोकिएन । उनले थप भने, “बिचराहरु ती बुद्धिजीवीहरु देखेर माया लाग्छ त्यसकारण मैले भनेको हो । बुद्धिजीवी बिग्रियो भने ‘श्रीमान गम्भीर’ लेख्न थाल्छ । त्यही बुद्धिजीवी सप्रियो भने ‘यो नेपाली शीर उचाली’ भनेर लेख्न थाल्छ । हेर्दाखेरी कोहीकोही बुद्धिजीवी ‘फर सी’ मात्रै छन् ।
यही प्रसंगमा उनले एउटा लघुकथा समेत सुनाएका थिए । जुन यस्तो छ, एक अमेरिकनले रत्नपार्कमा ठूलो फर्सी देखेछ । अनि किन्न खोजेछ । के हो यो भनेपछि पम्पकिन भन्ने त बेच्ने मान्छेलाई थाहा थिएन त्यसैले उसले फर्सी भन्यो । उसले ‘फर सी’ बुझ्यो । अनि त्यो अमेरिकनले किनेर लग्यो । घर लगेर उसले हावासावा नआउनेगरी जतनसाथ सिसाको फ्रेममा सुरक्षित राख्यो । अलि पछि बाहिरैसम्म गन्ध आउन थाल्यो । त्यसपछि उसले के भएछ भनेर यसो छोएर हेरेछ । छोएर हेर्दा भित्रभित्रै खत्तम भईसकेको थाहा पायो । अनि उसले सोच्यो । मलाई भन्न त भनेको थियो फर सी, मैले छोएँ, छोएपछि प्वाल पर्याे । प्वाल परेपछि खत्तम हुँदो रहेछ । त्यसकारण उसले ‘फर सी’ अर्थात हेर्नैका लागि भनेको रहेछ भन्ने सोच्यो । कथा सुनाईसकेपछि ओलीले भने, “नेपालमा पनि फर सी बुद्धिजीवीहरु छन, फर सी बुद्धिजीवीहरु चलाउनका लागि काम छैन, छोडदिनुहोस् ।”
उनी यतिमै रोकिएन फेरि भने, “बुद्धिजीवीहरु कहिले ‘स्वस्तीश्री गिरिराज चक्र चुणामणी’ लेख्छन्, कहिले ‘श्रीमान गम्भीर नेपाली’ लेख्छन् । स्वस्तीश्री गिरिराज चक्र चुडामणी नरनारायणत्य विविध विरुदवली… तपाईहरुले बुझ्नु भो, यो के भनेको ? यो सानोतिनो बुद्धिजीवीले लेखेको होईन ।”
३. मुसा बुद्धिजीवी
प्रधानमन्त्री ओलीले बुद्धिजीवीमाथि अर्काे प्रहार गरे २०७५ बैशाख १० गते । तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय धुम्बाराहीमा ओयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले बुद्धिजीवीहरुलाई मुसासँग तुलना गरे । सम्बोधनका क्रममा उनले भने, “जो लेखेर जीविका चलाईरहेका छन्, त्यो राम्रो हो । तर, कतिपयले लेखेको देखेर मलाई नमज्जा लाग्छ । मुसाले दाँतमा धार लगाई राखेन, केही काटिरहेन भने त्यसको दाँत लामो हुन्छ । त्यसले चाहिएको बेला केही काम गर्न सक्दैन । त्यो बांगिए। काम नलाग्ने हुन्छ । त्यसैले मुसाले दाँतमा धार लगाउन, छोट्याउन, तेजिलो बनाईराख्नका लागि काटिरहनुपर्छ ।” उनले थपे, “त्यसले तपईको घरको कपडा काट्छ । तर, नोक्सान गर्न भनेर कोटेको होईन । बिचरा उसले आफ्नो दाँतमा धार लगाउन काटेको हुन्छ । थाङना कपडा काटिदिए हुन्थ्यो नि, माइती जानेको साडी काटिदिन्छ । ससुराली जानेको सुट काटिदिन्छ । त्यसले केही बुभ्mदैन किनकी त्यो मुसा हो ।” उनले फेरि थपे, “तर बुद्धिजीवीले दाँतमा धारै लगाउनका निम्ति देशलाई नोक्सान पर्नेगरी किन धार लगाउने ? राराताललाई महेन्द्र ताल भनिदिएको छ । महेन्द्र जन्मिनुभन्दा लाखौ करोडौ बर्षअघि राराताल थियो ।”
४. कठैबरी बुद्धिजीवी
प्रधानमन्त्री ओलीले काठमाडौंको सभागृहमा आयोजित एक कार्यक्रममा बुद्धिजीवीहरु देखेर माया लागेको अभिव्यक्ति दिए । उनले भने, “केहीकेही बुद्धिजीवीहरु देखेर फेरि पनि माया लान्छ मलाई । कठैबरी ! घरपरिवारले तिनका लेखहरु पढेर कति जिस्काउँदा हुन् । कति धिक्कार्दा हुन । तिनको बाध्यता के हो सधै नराम्रो कुरा लेख्नुपर्ने ? अचम्म लाग्छ । बहसका लागि बोलाउदिन तर बहसका लागि आउनु भए तयार छु ।” उनको आवेश यतिमै रोकिएन । “केही महान बुद्धिजीवी देखेर अचम्म लाग्छ । यति साह्रो विवेक कहाँ लगेर कतिमा बन्दक राखेको । कसरी बन्दक हुन्छ, यति साह्रो विवेक । सही कुररा त अलिकति गर्न सक्नुपर्याे नि ।” उनले भने ।
५. डाक्टरको बुद्धिले घाम ताप्छ
प्रधानमन्त्री ओलीले गत बर्ष संसदीय निर्वाचनको समयमा पनि बुद्धिजीवीहरुतर्फ तीर हाने । ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई इंगित गर्दै ‘यसपालि डाक्टरको बुद्धिले घाम ताप्छ’ भनेर अभिव्यक्ति दिए ।
६. बिश्वविद्यालयको सर्टिफिकेटले मात्रै काम गर्दैन
प्रधानमन्त्रीले बुद्धिजीवीहरुको दक्षतामाथि अर्काे प्रहार गरे पुनर्निर्माण सम्बन्धी एउटा बैठकमा । पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसहितको समुहलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले भने, “विश्वविद्यालयको सर्टिफिकेटले मात्रै काम गर्दैन ।”
७. थला पर्ने गरी जवाफ दिउँ ?
बुद्धिजीवीहरुप्रति प्रधानमन्त्री ओलीको पारो त्यतिमै रोकिएन । ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बुद्धिजीवीहरुसँग जोरी खोज्ने शैलीले भने, “म पनि जवाफ दिउँ ?” उनले बुद्धिजीवीहरुको असलियत आपूmलाई थाहा भएको भन्दै आपूmले जवाफ दिँदा थलापर्ने बताएका थिए । उनले भने, “उहाँहरुलाई म जान्दछु, त्यसकारण मसँग एकपटक उहाँहरुले वादविवाद गर्न अथवा मसँग सत्यहरुको सम्बन्धमा बहस गर्ने इच्छा गर्नुभएको हो कि होईन ? उहाहरुलाई सोध्न चाहन्छु, उहाँहरुका अलिकति असलियत बाहिर आउँदा के हुन्छ ? अलिक विचार गरे हुने हो ।” उनले थपे, “म अत्यन्त अपमानजनक ढंगले जवाफ दिइरहन चाहन्न तर उहाँहरुलाई म सोध्न चाहन्छु म पनि जवाफ दिऊँ ?”
८. तीन तासे बुद्धिजीवी
प्रधानमन्त्री ओलीले हालै सम्पन्न जलविद्युत आयोजना सम्बन्धी कार्यक्रममा पनि बुद्धिजीवीहरुप्रति तिखो ब्यंग्यवाण प्रहार गरे । ओलीले बुद्धिजीवीहरुलाई ‘तीन तासे’सँग तुलना गरेर कुरा फिटेको अभिव्यक्ति दिए । आफू विकासको यात्रामा अघि बढिरहँदा समेत बुद्धिजीवीवर्गले कुरा काटेको देख्दा आफूलाई अचम्म लागेको बताए । “तीन तासेले तास फिटेको भन्दा बौद्धिक व्यक्तिले कुरा फिटेको सुन्दा अचम्म लाग्छ ।” ओलीले भनेका थिए । प्रधानमन्त्री ओलीले बौद्धिकवर्गहरु कहिल्यै सकारात्मक हुन नसकेको बताएका थिए ।
को हुन् बुद्धिजीवी ?
सामान्यतः तर्कसंगत ढंगले सोच्न सक्ने क्षमता भएका, गम्भीर अध्ययनमा संलग्न मान्छेलाई बुद्धिजीवी भनिन्छ । नेपालको सन्दर्भमा भन्नुपर्दा विगतमा पण्डित, ज्योतिषलाई बुद्धिजीवी भनिन्थ्यो । अहिले शिक्षक, डाक्टर, इन्जिनियर, प्राध्यापक, कर्मचारी, लेखक लगायतलाई बुद्धिजीवी मानिन्छ । संक्षेपमा भन्नुपर्दा बुद्धि भजाएर जीविका चलाउनेलाई बुद्धिजीवी भनिन्छ । अर्थशास्त्री पोल वारानका अनुसार बलभन्दा दिमागले भिडेर, शारिरिकभन्दा जुक्ति निकालेर, कर्पाेरेट एक्जिक्युटिभ, स्टक ब्रोकर वा प्रोफेसर पेसागत बुद्धिजीवी हुन् ।
नेपालमा तत्कालिन नेकपा एमालेको बुद्धिजीवी परिषद छ । नेपाली कांग्रेसको बुद्धिजीवी एवं पेसागत विभाग छ भने तत्कालिन माओवादीमा नेपाल बुद्धिजीवी संगठन छ । प्रधानमन्त्री ओली स्वयंले प्राध्यापक चैतन्य मिश्रको नेतृत्वमा नीति अनुसन्धान प्रतिष्ठान नामक बौद्धिक प्रतिष्ठान बनाएका छन् ।





























प्रतिक्रिया