काठमाडौं ।
सरकारले दुई वर्षदेखि गुपचुप राखेको उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्ने संस्थालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कारबाहीको सिफारिस गरेको छ । आयोगका १३ सदस्यको निर्णय र स्वीकृतिमा दुई गैरसरकारी संस्थाले प्रतिवेदनको पुस्तक प्रकाशन गरेर वितरण गरेका थिए ।
पुस्तक प्रकाशन गर्ने शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई) र ग्लोबल एक्सन नेपालसँग शिक्षा मन्त्रालयले सहकार्य विच्छेद गरेको घोषणा गर्दै कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको छ ।
नेपाल सरकारको निसान छाप र शिक्षा मन्त्रालयको नाम अनधिकृत रूपमा प्रयोग गरेकाले कारबाहीका लागि सिफारिस गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । प्रतिवेदन पुस्तकको कभरमा नेपाल सरकारको निसान छाप र शिक्षा मन्त्रालयको नाम उल्लेख गरिएको छ । मन्त्रालयले ती संस्थाले नेपाल सरकारको प्रतिलिपि अधिकारसमेत उल्लंघन गरेकाले प्रचलित कानुन बमोजिम कारबाहीका लागि सम्बन्धित निकायमा लेखिपठाएको विज्ञप्ति प्रकाशित गरेर जनाएको छ । यस्ता कार्य गर्ने संस्था र निकायसँग मन्त्रालय र अन्तर्गतका निकायहरूबाट शैक्षिक कार्य गर्न, गराउन कुनै सिफारिससमेत नहुने मन्त्रालयको भनाइ छ ।
शुक्रबार आयोगका १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदन सार्वजनिक गरेका थिए । २०७५ असार ३२ गते शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षमा मन्त्रिपरिषद्ले आयोग गठन गर्ने निर्णय गरेको थियो । २५ सदस्यीय आयोगले माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा पुगी प्रतिवेदन बुझाएको थियो । अनौपचारिक रूपमा प्रतिवेदन त्यतिबेलै बाहिरिएको थियो ।
सरकारले दुई वर्षसम्म प्रतिवेदन गुपचुप राखेकोमा असन्तुष्टि जनाउँदै आयोगका बहुमत सदस्यले गैरसरकारी संस्थाको सहयोगमा ५ सय थान पुस्तक नै तयार पारेर वितरण गरेका हुन् । मन्त्रालयले तीनै संस्थालाई कारबाही प्रक्रिया अघि बढाएको हो । आयोगका सदस्य श्याम श्रेष्ठले प्रतिवेदनकै अभिन्न अंगका रूपमा रहेको सरकारको छाप र मन्त्रालयको नाम पुस्तकमा प्रकाशित गरिएको बताए । ‘सरकारले दुई वर्षसम्म लुकाएर चुप बस्यो, प्रधानमन्त्रीलाई बालुवाटारमा जस्तो प्रतिवेदन बुझाएका थियौं, हुबहु प्रकाशित गर्न स्वीकृति दिएका हौं,’ उनले भने, ‘प्रधानमन्त्रीले प्रतिवेदन लुकाए भन्ने हाम्रो बुझाइ थियो, शिक्षा मन्त्रालय पनि प्रतिवेदन गुपचुप राख्न चाहँदो रहेछ भन्ने पुष्टि भयो ।’कान्तिपुरबाट





























प्रतिक्रिया