एकीकृत एनआरएनए बनाउने प्रयासमा जुट्न अनुरोध गर्दै सकियो गैरआवासीय नेपाली संघको साधारण सभा

एकीकृत एनआरएनए बनाउने प्रयासमा जुट्न अनुरोध गर्दै सकियो गैरआवासीय नेपाली संघको साधारण सभा

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को साधारण सभा भर्चुएल माध्यमबाट सोमबार आयोजना गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वपरराष्ट्र मन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले एनआरएनएले नेपालको विकास र अन्तर्राष्ट्रिय सम्बन्धलाई थप सुदृढ बनाउन सक्नेमा विश्वास व्यक्त गर्दै विदेशमा रहेका नेपालीहरूको अभियानलाई विचलन आउन नदिन आह्वान गरे।

महतले सहमतिको अधिवेशनको आवश्यकता रहेको पनि बताए । उनले एनआरएनएका सदस्यहरुमा पार्टीभन्दा माथि उठेर देश र जनताको सेवाका लागि योगदान दिनेु मानसिकता विकसित हुनुपर्नेमा जोड दिए ।

उनले विदेशमा रहेका नेपालीहरुको अभियानलाई बलियो बनाउँदै नेपालसँगको सम्बन्ध अझै प्रगाढ बनाउन एनआरएनएको भूमिका महत्त्वपूर्ण हुने बताए । उनले एनआरएनहरुसँग रहेको पूँजी, योग्यता, सम्भावना र सिर्जनालाई नेपालको विकासमा जोड्ने हो भने बाहिरी सहयोगको आवश्यकता नपर्ने विश्वास पनि व्यक्त गरे ।

उनले भने, ‘यो संस्थामा बसेर म कसरी नेपालको विकासमा जोडिन सक्छु भन्ने मानसिकता राखेर काम गर्नुपर्छ । पदमा पुग्नै पर्छ भन्ने सोचाइ गलत हो । यदि हामी एकतामा लाग्यौँ भने सफलता अवश्य प्राप्त हुनेछ ।’

साथै, उनले एनआरएनएको उद्देश्य एक पटकको नेपाली सधैँको नेपाली भन्ने भावनालाई सार्थक पार्नका लागि नेपाली समाजमा सहमतिमा अगाडि बढ्नुपर्नेमा जोड दिए । नेकपा माओवादीका उप महासचिव तथा पूर्वगृहमन्त्री शक्ति बस्नेतले सामाजिक तथा सांस्कृतिक विविधता नेपालको पूँजी भएको बताए।

उनले परराष्ट्र मन्त्रालयको पहलमा हुन गइरहेको बैठक एकताको ढोका खोल्न सार्थक बन्ने विश्वास पनि व्यक्त गरे । त्यसैगरी, उनले सन् २००३ मा संघ स्थापना गर्दा देखेको सपना अझै साकार पार्न बाँकी रहेको बताउँदै संस्थालाई हास्य व्यंग्यको पात्र बन्न नदिन सबैलाई सतर्क रहन सुझाव दिए ।

एनआरएनए आइसीसीका अध्यक्ष आरके शर्माले ११ औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन नसकेको दुख व्यक्त गरे । शर्माले भने, ‘नेपाल सरकारको सह महान्यायाधिवक्ता नेतृत्वको समिति र सीबीआइले पनि निर्वाचन प्रक्रिया त्रुटिपूर्ण रहेको प्रमाणित गरिसकेको छ ।’

उनले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयन गर्नु संघको मूल मुद्दा रहेको उल्लेख गरे। संघका पूर्वकोषाध्यक्ष हिक्मत थापाले संस्थाभित्र व्यक्तिगत स्वार्थ हावी भएको भन्दै सबैलाई स्वार्थ त्यागेर संस्था बलियो बनाउन आग्रह गरे। थापाले नेपाली भाषा, साहित्य, र संस्कृतिको प्रवर्द्धनमा एनआरएनएको ठूलो भूमिका रहेको भन्दै एकीकृत एनआरएनए बनाउने प्रयासमा जुट्न सबैलाई अनुरोध गरे ।

Logo