त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको कार्यालयमा कामकाज ठप्प हुने भएको छ । बुधबार सेवाग्राहीका रुपमा कार्यालय प्रवेश गरेका व्यक्तिहरुले कर्मचारीहरुमाथि हातपात गरेपछि कानूनी कारवाहीको माग गर्दै कार्यालयको कामकाज बन्द गर्न लागिएको हो ।
कार्यालयले बुधबार सूचना प्रकाशित गरी कर्मचारीको सुरक्षाको पूर्ण प्रत्याभूति नभएसम्मका लागि सम्पूर्ण काम कारवाही बन्द रहने जनाएको छ । ‘हातपात गर्ने उपर कानूनी कारबाही नभएसम्म र कर्मचारीको सुरक्षाको प्रत्याभूति नभएसम्म यस कार्यालयको सम्पूर्ण काम कारबाहीहरु बन्द रहने व्यहोरा अनुरोध छ।’ सूचनामा भनिएको छ।
बुधबार बिहान रजिष्ट्रार भूवनहरि अर्याल र उपरजिष्ट्रार हरिनारायण बेल्वासे माथि आज हातपात भएको थियो । कम्पनी दर्ता गर्न आएका गुणराज आचार्य र टीकाध्वज खड्काले रजिष्ट्रार र रजिष्ट्रार माथि कुटपीट गरेका थिए ।
कम्पनी ऐन अनुसार कुनै देशको नाम राखेर कम्पनी दर्ता गर्न नपाइने भए पनि आचार्य र खड्काले चीनको नाम राखेर कम्पनी दर्ता गराउन खोजेका थिए । त्यसरी कम्पनी दर्ता गर्न नमानेपछि रजिष्टार र उपरजिष्टार माथि हातपात भएको कार्यालयले जनाएको छ ।
अभियुक्त मध्येका आचार्यलाई प्रहरीले पक्राउ गरेको र अर्का अभियुक्त खड्का भने फरार भएका छन् ।
































प्रतिक्रिया