अतिरुद्र विश्वकल्याण विराट् महायज्ञको सम्पूर्ण तयारी पूरा

अतिरुद्र विश्वकल्याण विराट् महायज्ञको सम्पूर्ण तयारी पूरा

केन्द्रबिन्दु
54
Shares

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेसनको आयोजनामा कात्तिक २१ गतेदेखि २५ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने अतिरुद्र विश्वकल्याण विराट् महायज्ञको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपालमै पहिलोपटक १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागी हुने विश्वास आयोजकले लिएको छ ।

महायज्ञको औपचारिक उद्घाटन वैदिक गुरुहरुद्वारा कात्तिक २१ गते बुधबार बिहान साढे १० बजे शोभायात्रा लगत्तै हुनेछ । भद्रकाली मन्दिरबाट मौलिक नेपाली झाँकी तथा १ सय ८ शंखघण्टसहित सुरु हुने शोभायात्रा शहीदगेट, रत्नपार्क हुँदै भृकुटीमण्डपमा पुगेर उद्घाटन समारोहमा सरिक हुनेछ ।

महायज्ञ आयोजक समितिकी सदस्य एवं प्रचार विभाग प्रमुख समीक्षा बाँस्कोटाले नेपालीहरु आफैँले कर्ता बनेर नेपालको शान्ति र समृद्धिको कामना गर्दै सम्पन्न हुने महायज्ञका दौरान भावातीत ध्यान तथा सिद्धि कार्यक्रम, प्रंगारिक कृषि मेला, वैदिक तथा आधुनिक विज्ञान महासम्मेलन, भागवत कथा वाचन लगायतका कार्यक्रमहरु पनि आयोजना गरिने बताइन् ।

महायज्ञलाई सफल बनाउन ७७ वटै जिल्लाबाट वैदिक गुरु तथा बटुकहरु काठमाडौँ आइपुगेका छन् । ‘अतिरुद्र विश्वकल्याण विराट् महायज्ञको अन्तिम तयारी पूरा गरेका छौँ । कात्तिक २१ गतेदेखि २५ गतेसम्म सम्पूर्ण नेपालीहरुलाई भृकुटीमण्डपमा महायज्ञ, ध्यान शिविर, वैदिक महासम्मेलन र भागवत सार वाचन लगायतका कार्यक्रममा सहभागी हुन आह्वान गर्दछौँ’, बाँस्कोटाले भनिन् ।

सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवका अवसरमा नेपाल महर्षि वैदिक फाउण्डेसनले आयोजना गरेको विराट् महायज्ञमा ईच्छुक जोकोही सहभागी हुनसक्ने आयोजकले जनाएको छ । महायज्ञका लागि भृकुटीमण्डप परिसरमा हवनस्थल, वाचन स्थल, योगास्थल, सचिवालय, ५० वटा प्रांगारिक कृषि स्टल, सचिवालय, विश्रामस्थल, मिडिया सेण्टर, भोजनस्थल लगायतको प्रबन्ध गरिएको आयोजकले जनाएको छ ।

Logo